काठमाडौं ।
राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध करिब ६८ करोड ९४ लाख रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।
विभागले बुधबार काठमाडौं जिल्ला अदालत, बबरमहलमा अभियोगपत्र दर्ता गरेको हो। विभागका अनुसार पौडेलविरुद्ध ६१ करोड १३ लाख रुपैयाँभन्दा बढी र उनकी श्रीमती बस्नेतविरुद्ध ७ करोड ८१ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत विभिन्न दफाअनुसार कसुर गरेको अभियोग लगाइएको छ। यसअघि विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दामा पनि उनीहरूमाथि अनुसन्धान भइरहेको थियो।
अनुसन्धानका क्रममा गैरकानुनी आम्दानीमार्फत आर्जित सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएपछि थप अभियोगसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ।























