काठमाडौं । सरकारले सरकारी कर्मचारीलाई १५ दिनमै पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था सुरु गरेको छ। अर्थ मन्त्रालय का अनुसार बुधबारदेखि पाइलट परियोजनाका रूपमा उक्त प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आयोजित कार्यक्रममा कम्प्युटराइज्ड गभरमेन्ट एकाउन्टिङ सिस्टम मार्फत भुक्तानी आदेश पठाएर नयाँ प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्। यससँगै अर्थ मन्त्रालयका कर्मचारीहरूले वैशाख महिनाको पहिलो अर्धमासिक तलब प्राप्त गरेका छन्।
मन्त्री वाग्लेले १५ दिनमै तलब दिँदा बजारमा उपभोग र माग बढेर अर्थतन्त्र चलायमान हुने बताए। यो व्यवस्था सुरुमा संघीय निजामती कर्मचारीमा लागू गरिएको र क्रमशः अन्य सरकारी सेवामा विस्तार गरिने उनले जानकारी दिए।
महालेखा नियन्त्रक कार्यालय का प्रमुख शोभाकान्त पौडेल ले प्रणाली प्राविधिक रूपमा तयार रहेको र आगामी दिनमा प्रदेश तथा अन्य सेवाका कर्मचारीलाई समेत समेट्दै अघि बढाइने बताए।
उनका अनुसार अर्धमासिक तलब भुक्तानीले बजारमा नियमित माग सिर्जना, साना व्यवसायमा नगद प्रवाह वृद्धि र डिजिटल अर्थतन्त्र विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सरकारले गत वैशाख ४ गते यस्तो प्रणाली पाइलट परियोजनाका रूपमा सुरु गर्ने निर्णय गरेको थियो।























