काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा नेपाल–चीन सम्बन्ध, आपसी हित र द्विपक्षीय सहकार्य विस्तारका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूत झाङले नेपालमा नयाँ सरकार गठनप्रति बधाई दिँदै दुई देशबीचको मित्रता अझ सुदृढ बनाउन विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक स्थायित्वसँगै आर्थिक तथा सामाजिक विकासका लागि नयाँ अवसर सिर्जना भएको उल्लेख गर्दै चीन त्यसमा सहकार्य गर्न इच्छुक रहेको बताए।
राजदूत झाङले चीनले प्रविधिमा आधारित उत्पादन र कृत्रिम बौद्धिकता क्षेत्रमा प्राथमिकता दिएको उल्लेख गर्दै नेपालसँग सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्यको सम्भावना रहेको बताए। साथै, नेपालमा सञ्चालित चिनियाँ लगानीका कम्पनीहरूका लागि अनुकूल वातावरणको अपेक्षा पनि व्यक्त गरे।
चिनियाँ लगानीकर्ताले भोगिरहेका समस्याको समाधानका लागि सरकार तयार रहेको जनाउँदै मन्त्री तिमिल्सिनाले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने आवश्यकता औंल्याएका छन्।























