काठमाडौं– व्यवसायी चन्द्रप्रसाद ढकाल नेतृत्वको चन्द्रागिरी हिल्स लिमिटेडले विभिन्न बैंकबाट लिएको अर्बौं रुपैयाँ कर्जामा गम्भीर अनियमितता भएको प्रारम्भिक तथ्य बाहिर आएको छ ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकभित्र भएको ऋण अपचलन, हुण्डी कारोबार तथा बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आशंका गर्दै थप छानबिन अघि बढाएको स्रोतले जनाएको छ ।
कम्पनीका अध्यक्ष हेमराज ढकाल (चन्द्र ढकालका भाइ) नेतृत्वमा रहेको चन्द्रागिरी हिल्सको आर्थिक वर्ष २०७६/०७७ को अपरिस्कृत लेखा परीक्षण प्रतिवेदनअनुसार कम्पनीले स्थानीयबाट ३४ करोड ९८ लाख ९५ हजार रुपैयाँमा १०६ रोपनी ९ आना जग्गा खरिद गरेको देखिन्छ ।
तर, सोही जग्गालाई पुनर्मूल्यांकन गरी अत्यधिक मूल्य कायम गरेर धितो राख्दै विभिन्न बैंकबाट करिब २ अर्ब २० करोड रुपैयाँसम्म कर्जा लिइएको पाइएको छ ।

केवलकार परियोजनाका लागि साविक थानकोट, महादेवस्थान तथा मकवानपुरको फाखेल क्षेत्रका जग्गा न्यून मूल्यमा खरिद गरी उच्च मूल्यांकन गरेर बैंक धितो बनाइएको विषय यसअघि पनि विवादमा आएको थियो ।
स्रोतका अनुसार चन्द्रागिरीको करिब १०३ रोपनीभन्दा बढी क्षेत्रफललाई धितो देखाएर ठूलो परिमाणमा कर्जा प्रवाह गरिएको छ ।
चन्द्रागिरी हिल्सले सहवित्तियकरण (कन्सोर्टियम) अन्तर्गत सिटिजन बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सनराइज बैंक, साविक मेगा बैंक र प्रभु बैंकसँग २०१४ मे २ र २०१६ मार्च ३१ मा सम्झौता गरी २ अर्ब २० करोड रुपैयाँ आवधिक कर्जा लिएको देखिन्छ ।

बैंक स्रोतका अनुसार हाल रहेको करिब १०३ रोपनी १३ आना जग्गालाई मात्रै धितो राखेर कर्जा प्रवाह गरिएको थियो ।
‘केवल चन्द्रागिरीको पाखो धितो राखेर त्यसको मूल्य २ अर्ब कसरी पुग्यो ?’ भन्ने प्रश्न उठाइएको छ ।
यसैबीच, गत कार्तिक ११ गते सीआईबीले प्रभु समूहअन्तर्गतको व्यवस्थापनमा भएको ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ अन्तर्गत केही व्यक्तिलाई पक्राउ गरेको थियो ।
अनुसन्धानले प्रभु समूहसँग सम्बन्धित व्यवस्थापन तथा रेमिट्यान्स कारोबारमार्फत ४ सय ६४ सहकारीको २ अर्ब ४० करोडभन्दा बढी रकम हिनामिना भएको निष्कर्ष निकालेको छ ।
यस्तै, ढकाल समूहले पाथिभरा केबलकार परियोजनामा पनि ७ लाख २० हजार रुपैयाँमा खरिद गरिएको जग्गालाई करिब २६ करोड रुपैयाँभन्दा बढी मूल्यांकन गरी बैंक धितोका रूपमा प्रयोग गरेको तथ्य फेला परेको छ ।
चन्द्रागिरी परियोजनाजस्तै पाथिभरा परियोजनामा पनि ‘किर्ते मूल्यांकन’को ढाँचा दोहोरिएको आशंकामा सीआईबीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्राप्त विवरणअनुसार चन्द्रागिरी हिल्सले विभिन्न बैंकबाट लिएको कर्जामध्ये सिटिजन बैंकबाट ५२ करोड ३८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४९ करोड ७६ लाख, मेगा बैंकबाट ११ करोड ९९ लाख, सिद्धार्थ बैंकबाट १० करोड, प्रभु बैंकबाट ३४ करोड ९५ लाख, सानिमा बैंकबाट ३४ करोड ९० लाख र सनराइज बैंकबाट २४ करोड ९२ लाख रुपैयाँ प्रवाह भएको देखिन्छ ।
स्रोतका अनुसार यसमध्ये ठूलो हिस्सा पछि प्रभु बैंकमा सारिएको थियो ।

सीआईबीका प्रवक्ता शिवराज श्रेष्ठका अनुसार प्रभु समूहमाथिको अनुसन्धानका क्रममा रेमिट्यान्सदेखि अन्य कारोबारसम्म आईएमई समूहसँग सम्बन्धित तथ्यहरूसमेत भेटिएका छन्, जसबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
सीआईबीले धितो मूल्यांकन प्रक्रिया, कर्जा स्वीकृति प्रणाली तथा बैंकभित्रका निर्णयकर्ताहरूको भूमिकामाथि पुनः छानबिन तीव्र बनाएको छ ।
आरोप पुष्टि भएमा चन्द्र ढकाल नेतृत्वको कम्पनीसँगै सम्बन्धित बैंकका जिम्मेवार अधिकारीहरू पनि कानुनी कारबाहीको दायरामा आउने देखिएको छ ।






















