काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा सहसंयोजक माधवकुमार नेपाल विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयका नाममा दिइएको जग्गा अनियमितता प्रकरणमा उनीमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपछि २०८२ जेठ २२ गते विशेष अदालत मा मुद्दा दायर गरेको थियो ।
अख्तियारका अनुसार मन्त्रिपरिषद्को २०६६ माघ १८ को निर्णय कार्यान्वयनका लागि मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा ढिलोगरी पत्राचार गरिएको थियो ।
तर त्यसअघि नै तत्कालीन प्रधानमन्त्री नेपालको निर्देशनमा हदभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको दाबी छ ।
२०६६ चैत ६ को मन्त्रिपरिषद् बैठकले पतञ्जली योगपीठलाई हदभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न स्वीकृति दिएको थियो ।
सोही आधारमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको र उक्त जग्गा धितो राखी कर्जा समेत प्रवाह भएको अख्तियारले जनाएको छ ।






















