काठमाडौं- ललितपुरका सार्वजनिक स्थानहरूमा धूम्रपान सेवन गर्न निषेध गरिने भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय र ललितपुर महानगरपालिकाको संयुक्त प्रयासमा ललितपुर क्षेत्रका सार्वजनिक तथा खुला स्थानहरूमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन र बिक्री-वितरण निषेध गर्न थालिएको हो।
सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन, २०६८, लाई कार्यान्वयन गर्न धूम्रपान सेवन तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरणलाई कडाइ गर्न लागिएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए। सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने ऐन, २०६८, ले सार्वजनिक स्थानहरूमा धूम्रपान बिक्री–वितरण तथा सेवन निषेध गरेको छ।
तर, उक्त व्यवस्था कार्यान्वयन हुन सकिरहेको छैन।
काठमाडौं महानगरपालिकाले पनि गत भदौदेखि सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गरे पनि अनुगमन नहुँदा कार्यान्वयन हुन सकिरहेको छैन।
जनस्वास्थ्य कार्यालय ललितपुर प्रमुख डा। गेलालका अनुसार प्रमुख जिल्ला अधिकारी, महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित एक साताअघि बैठक बसेर सार्वजनिक स्थानमा सुर्तीजन्य बिक्री–वितरणदेखि धूम्रपान रोक्नेसम्मको निर्णय भएको थियो।
सो निर्णय कार्यान्वयन गर्नका लागि जनस्वास्थ्य कार्यालयले नगर प्रहरीको सहायतासमेत माग गरेको छ।
सुरुमा दुई महिना जनचेतना र सूचना जारी गरिने छ।
त्यसपछि जरिवाना तिराइनेछ।
‘सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन कडाइका साथ कार्यान्वयन हुन्छ, पहिलो चरणमा दुई महिनासम्म जनचेतना र अनुरोध गर्छौँ, तर दुई महिनापछि आउँदो असारदेखि जरिवानासहित कारबाही गर्छौँ, प्रतिव्यक्ति सय रुपैयाँ जरिवाना र पटक-पटक अटेरी गरेमा त्यस सार्वजनिक ठाउँमा आउन रोक लगाउँछौँ,’ डा. गेलालले भने, ‘खुला र सार्वजनिक ठाउँहरूमा एक सातापछि धूम्रपान निषेध हुनेछ, सुरुमा हामीले ललितपुर महानगरपालिका-३ वटा यो अभियान थाल्छौँ, त्यसपछि तीनवटै पालिकाका सबै सार्वजनिक स्थानहरूमा धूम्रपान सेवनमा कडाइ गर्छौँ।’
उनका अनुसार स्कुल र स्वास्थ्य संस्थाका वरिपरि पनि सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने तयारी गरिएको छ।


विश्व खबर 



















