काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
फागुन २१ को संघीय निर्वाचनमा पार्टीले सोचेजस्तो नतिजा ल्याउन नसकेको र पार्टी नेतृत्वको कार्यशैली एकलौटी भएको भन्दै असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।
यही विषयमा केन्द्रीत रहेर आइतबार असन्तुष्ट पक्षको भेला भएको छ ।
महामन्त्री धवलशमशेर राणासहित दुई दर्जन भन्दा बढी नेताहरु सहभागी भएको भेलामा नेताहरुले अध्यक्ष लिङ्देनको कडा आलोचना गरे ।
नेता दिलनाथ गिरीले एकता महाधिवेशनपछि नयाँ उत्साहका साथ अघि बढेको पार्टी अहिले नराम्रोसँग खुम्चिएको बताए ।
उनले भने, ‘निर्वाचनपूर्व अध्यक्षले मलाई खेल्न दिनुहोस्, राप्रपालाई देशको पहिलो पार्टी बनाउँछु भन्नुभएको थियो, तर नतिजा अकल्पनीय रुपमा नकारात्मक आयो ।’
गिरीका अनुसार चुनावी असफलताको डेढ महिना बितिसक्दा पनि नेतृत्वले कुनै नैतिक जिम्मेवारी नलिएको र कार्यकर्तामा अन्यौलता छाएको छ ।
पार्टीभित्र उपसभामुखको निर्वाचन प्रकरणले झन् ठूलो आशंका जन्माएको असन्तुष्ट पक्षको ठहर छ ।
उपसभामुख पदमा उम्मेदवारी दिने निर्णय केन्द्रीय समिति वा कार्यसम्पादन समितिमा छलफल नै नगरी लिइएको भन्दै यसले पार्टीको सैद्धान्तिक आधारमाथि नै प्रश्न उठाएको नेता गिरीले उल्लेख गरे ।
विवाद बढ्दै जाँदा असन्तुष्ट पक्षले नेतृत्वलाई सच्चिने कि सकिने भन्ने गम्भीर प्रश्न गर्दै ३ बुँदे माग अघि सारेका छन् ।
उनीहरुले पार्टीलाई पुनर्जीवन दिन र नयाँ नेतृत्व चयनका लागि अविलम्ब केन्द्रीय महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।
यस्तो छ अघि सारेका मागहरु























