विश्वव्यापी ऊर्जा सङ्कट चर्किरहेका बेला इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तो तेलसम्बन्धी छलफलका लागि रुस जाने भएका छन् । उनी आइतबार साँझ जकार्ताबाट मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ ।
राष्ट्रपतिका अनुसार यो भ्रमण ऊर्जा सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । विदेशमन्त्री सुगियोनोले तेल आपूर्ति र ऊर्जा स्थायित्वलाई वार्ताको मुख्य एजेन्डा बनाइएको बताए । उनले राष्ट्रपति प्रबोवोले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर विश्व भूराजनीति र ऊर्जा बजारको अवस्थाबारे विस्तृत छलफल गर्ने जानकारी दिए ।
राष्ट्रपति प्रबोवोले पछिल्ला दिनहरूमा दक्षिण कोरिया र जापानको भ्रमण गरेका थिए । ती भ्रमणहरूलाई उनले विदेश नीति सुदृढ गर्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन् । उनले आफ्ना मन्त्रीहरूलाई सम्बोधन गर्दै ऊर्जा सुरक्षालाई राष्ट्रिय प्राथमिकता बनाउँदै विश्वका प्रमुख राष्ट्रहरूसँग प्रत्यक्ष संवाद आवश्यक भएको बताएका थिए ।


विश्व खबर 




















