images
images
  • संसद् चलाउन के गर्दैछन् ६ दलका सांसद ?

    काठमाडौं– प्रतिनिधिसभाको कार्यसञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन तयार पारिँदै आएको ‘प्रतिनिधिसभा सञ्चालन नियमावली’ अन्तिम चरणमा पुगेको छ। नयाँ नियमावली तर्जुमाका लागि गठित मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी रहेको छ।

    गणेश पराजुलीको सभापतित्वमा रहेको १५ सदस्यीय समितिले संसद् सञ्चालनसँग सम्बन्धित आवश्यक संशोधन तथा नयाँ प्रावधानहरूमा दफावार छलफल गरिरहेको छ। बैठकमा सहभागी सदस्यहरूले संसदीय प्रक्रियालाई समयसापेक्ष र थप पारदर्शी बनाउन विभिन्न अध्यायमा संशोधन प्रस्तावहरू प्रस्तुत गरेका छन्।

    मस्यौदा समितिमा छ वटा राजनीतिक दलका प्रतिनिधित्व रहने गरी सांसदहरू सहभागी छन्।

    संसदीय व्यवस्थामा नियमावलीले प्रतिनिधिसभाको बैठक बस्ने समय, कार्यसूची निर्धारण, छलफलको प्राथमिकता र समय व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षहरू तय गर्छ। साथै, सभामुखको भूमिका, सांसदहरूको अधिकार, कर्तव्य र मर्यादालाई पनि यसले स्पष्ट रूपमा परिभाषित गर्छ।

    यस नियमावलीमार्फत संसदीय समितिहरूको कार्यक्षेत्र निर्धारण, कानुन निर्माण प्रक्रियाको नियमन तथा सरकारलाई संसद्प्रति उत्तरदायी बनाउने संयन्त्र जस्तै प्रश्नोत्तर व्यवस्थालाई थप सुदृढ बनाइनेछ।

    समिति गठन भएसँगै मस्यौदा तयारीको काम तीव्र रूपमा अघि बढेको छ। सदस्यहरूको सक्रिय सहभागिताबीच चाँडै अन्तिम मस्यौदा प्रतिनिधिसभामा पेस गर्ने तयारी रहेको छ। नियमावली पारित भएपछि संसद्को कार्यसञ्चालन अझ व्यवस्थित, परिष्कृत र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images