काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभामा डोलप्रसाद अर्याल ‘डिपी’ सभामुख निर्वाचित भएसँगै अब उपसभामुख कसले पाउने भन्ने राजनीतिक चासो तीव्र बनेको छ ।
करिब दुई तिहाइ बहुमतसहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्णायक स्थितिमा रहेकाले विपक्षी दलहरू उसको समर्थन पर्खिरहेका छन् ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने भएकाले उपसभामुख महिला र विपक्षी दलबाटै चयन हुने निश्चितजस्तै छ ।
तर, कुन दललाई समर्थन गर्ने भन्ने विषयमा रास्वपाभित्रै फरक–फरक धारणा देखिएका छन् ।
सभापति रवि लामिछाने राप्रपातर्फ झुकेको बताइँदा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ श्रम संस्कृति पार्टीतर्फ सकारात्मक देखिन्छन् ।
सभामुख अर्याल भने पुराना दलसँग सन्तुलन मिलाउने पक्षमा छन् ।
उता नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा) श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सबैले उपसभामुखमा दाबी गरिरहेका छन् र रास्वपाको निर्णय पर्खिरहेका छन् ।
संवैधानिक परिषद्को शक्ति सन्तुलनसँग जोडिएको यो पदमा रास्वपाको रोजाइ निर्णायक हुने भएकाले अन्तिम निर्णय राजनीतिक समीकरण मिलाएरै हुने देखिन्छ ।























