काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख कसलाई दिने भन्ने विषयमा रवि लामिछाने र बालेन शाहबीच मतभेद देखिएको छ ।
आइतबार बिहान दुवै नेताबीच भएको छलफलमा सहमति जुट्न सकेन ।
बालेन शाहले उपसभामुख पद श्रम संस्कृति पार्टीलाई दिनुपर्ने धारणा राखेका छन् भने रवि लामिछाने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा उभिएका छन् ।
विषय टुंग्याउन उनीहरूबीच फेरि छलफल हुने तयारी छ ।
यसैबीच, सभामुखमा निर्वाचित डीपी अर्यालले भने राजनीतिक समन्वय र संविधान संशोधनका लागि नेपाल कम्युनिस्ट पार्टीलाई उपसभामुख दिनुपर्ने सुझाव दिएका थिए ।
तर, रवि र बालेन दुवै यसमा सकारात्मक नदेखिएकाले नेकपाको सम्भावना कमजोर बनेको छ ।
संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ ।
साथै उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले यो पदको छनोटलाई लिएर दलहरूबीच चासो र छलफल तीव्र बनेको छ ।
यता ज्ञानेन्द्र शाहीले भने उपसभामुखबारे रास्वपासँग औपचारिक छलफल नभएको बताएका छन् ।
यद्यपि आफ्नो दलको दाबी स्वाभाविक रहेको उनको भनाइ छ ।























