images
images
  • उपसभामुखमा दलहरूका आ-आफ्नै दाउ, संवैधानिक नियुक्तिदेखि संविधान संशोधनसम्म पर्नेछ प्रभाव

    काठमाडौं- प्रतिनिधिसभाको सभामुख पदमा आज आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डिपी) निर्वाचित भएको घोषणा हुँदै छ ।

    शुक्रबार सभामुखमा एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भइसकेका छन् ।

    यद्यपि, आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखको उम्मेदवारीबारे प्रस्ताव पेस हुनेछ र प्रतिनिधिसभा बैठकले पारित गरेपछि उनी सभामुख निर्वाचित भएको घोषणा हुनेछ ।

    अर्यालले आजै राष्ट्रपतिसमक्ष शपथ लिनेछन् ।

    सभामुखको टुंगो लागेसँगै उपसभामुखका लागि छलफल र दाउपेच सुरु भएको छ ।

    सत्तारुढ रास्वपाले उपसभामुख कुन पार्टीलाई दिने भनेर आन्तरिक छलफल सुरु गरेको छ । खासगरी सभापति रवि लामिछानेले यस विषयमा छलफल गरिरहेका छन् ।

    नेपालको संविधानको धारा ९१ को उपधारा (२) मा ‘प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने’ व्यवस्था छ ।

    रास्वपाबाट पुरुष सभामुख भइसकेपछि संवैधानिक रूपमा रास्वपाबाहेक ५ दलमध्येबाट १ महिला उपसभामुखको उम्मेदवार हुनुपर्नेछ ।

    केही दलले उपसभामुखमा आफ्नो दाबी प्रस्तुत गरिरहँदा केही दल भने रास्वपाले उपसभामुख पद देला कि १ भनेर आसमा छन् ।

    १८२ सिटसहित प्रतिनिधिसभामा पहिलो दल बनेको रास्वपाले जसलाई उपसभामुख दियो, उही निर्वाचित हुने अवस्था छ ।

    अंकगणितको हिसाबले १ जना स्वतन्त्र सांसदसहित सबै प्रतिपक्षी दल एकठाउँ हुँदा पनि जम्मा संख्या ९३ पुग्ने हुँदा सबै दल रास्वपाले ‘दिएको लिनुपर्ने’ अवस्थामा छन् ।

    कांग्रेस र श्रम संस्कृतिको दाबी, आस गर्दै नेकपा र राप्रपा
    उपसभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दाबी गरेको छ । ३८ सिटसहित दोस्रो दलको हैसियतमा रहेको कांग्रेसले उपसभामुख आफूले पाउनुपर्ने दाबी गरेको हो ।

    कांग्रेसले उपसभामुखमा आफूहरूको दाबी रहने भन्दै सघाउन अन्य प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ । कांग्रेस सांसद भीष्मराज आङ्दाम्बेले उपसभामुखमा आफूहरूको दाबी रहने जानकारी दिए ।

    आफूहरूको दाबीबारे रास्वपासँग औपचारिक संवाद भने नभएको उनी बताउँछन् । ‘उपसभामुखमा हाम्रो दाबी रहन्छ । हामी उम्मेदवारी दिन्छौँ,’ उनले भने, ‘अन्य प्रतिपक्षी दलको पनि दाबी रहला, तर हामीलाई सघाउन आग्रह गर्छौं ।’

    प्रतिनिधि सभामा ७ सिट रहेको श्रम संस्कृति पार्टीले पनि उपसभामुखमा दाबी गरेको छ । अध्यक्ष हर्कराज राईले आफूहरूले उपसभामुखमा उम्मेदवारी दिने बताए ।

    उनले नयाँ दलले नयाँ दललाई नै समर्थन गर्नुपर्ने भन्दै रास्वपालाई दबाबमा समेत राखेका छन् ।

    ‘उपसभामुख चयनको निर्वाचनमा हामी महिला उम्मेदवार खडा गर्दै छौँ,’ उनले भनेका छन्, ‘हेरौँ नयाँले नयाँलाई भोट हाल्छन् कि उही पुरानालाई १ ७ भोट आउँछ कि १८९ ?’

    यता, १७ सिटसहित चौथो दलका रूपमा रहेको नेकपा र ५ सिटसहित छैटौँ दलका रूपमा रहेको राप्रपाले भने उपसभामुखका लागि रास्वपाको मुख ताकेर बसेका छन् ।

    सार्वजनिक रूपमा दाबी नगरे पनि आन्तरिक रूपमा रास्वपा सभापति रवि लामिछानेसँग यी दलका शीर्ष नेताहरूले कुरा गरिरहेका छन् ।

    यद्यपि, लामिछानेको मुखबाट अहिलेसम्म ठोस जबाफ आइसकेको छैन । रास्वपासँग सहकार्य गर्न आफू तयार रहेको नेकपाले बताइसकेको छ । रास्वपाले दिए लिने नेकपाको दाउ छ ।

    नेकपाका प्रमुख सचेतक युवराज दुलालले सबै प्रतिपक्षी दल मिल्दा पनि संख्या नपुग्ने हुँदा उपसभामुख पदका लागि कसैसँग सहमति अथवा समझदारी नभएको बताए ।

    नेकपा सुशासन र अग्रगमनको पक्षधर पार्टी भएको भन्दै उनले रास्वपाले नेकपालाई उपसभामुख दिँदा स्वाभाविक हुने भए पनि रास्वपाले सहकार्य नचाहेको बताए ।

    ‘सरकारको बहुमत भएकाले यसमा रास्वपा नै निर्णायक हो । हामीले धेरै लबिइङ गरिरहेका छैनौँ,’ उनले भने, ‘नेकपा सुशासन र अग्रगमनको पक्षधर भएकाले हामी सहकार्य गर्न तयार छौँ । तर, रास्वपाले सहकार्य गर्न खोजेको देखिँदैन ।’

    राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले शनिबार रास्वपा सभापति लामिछानेलाई उनकै निवासमा पुगेर भेटे । स्रोतका अनुसार शाहीले उक्त भेटमा आगामी दिनमा सहकार्य गरेर जान उपसभामुख आफूहरूलाई दिन माग गरेका छन् ।

    ‘विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ । त्यसैले आज हामी एकजुट भएर देश बनाउने महाअभियानमा अघि बढिरहेका छौँ,’ सभापति लामिछानेसँग भेटको तस्बिर सेयर गर्दै नेता शाहीले भनेका छन् ।

    राप्रपाकी सचेतक खुश्बु ओलीले उपसभामुखका लागि प्रतिपक्षी दलहरूको समान दाबी रहने भए पनि राप्रपाले यस विषयमा औपचारिक छलफल नगरेको बताइन् ।

    ‘संसदीय दलको नेताले रास्वपा सभापतिसँग भेट गर्नुभयो । उहाँहरूको तहमा कुराकानी भएको हुन सक्छ, मलाई जानकारी भएन,’ उनले भनिन्, ‘प्रतिपक्षी दलहरूको समान दाबी रहन्छ । रास्वपाले भविष्यसम्म कोसँग सहकार्य गर्न आवश्यक ठान्छ, उसकै निर्णयमा भर पर्ने कुरा हो ।’

    एमालेले भने उपसभामुखमा दाबी गर्ने कि नगर्ने भन्ने सम्बन्धमा निर्णय लिन सकेको छैन ।

    अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेको र संसदीय दलका नेता रामबहादुर थापा बादलले गत बिहीबार संसद्मा बोलेको कुरालाई पार्टी सचिवालय बैठकले नै अस्विकार गरेको अवस्थामा एमाले आन्तरिक विवादमा फसेको छ ।

    यसैकारण, शुक्रबार सभामुख पदका लागि पार्टीको तर्फबाट उम्मेदवारी दिने गरी छलफल भए पनि अन्तिम समयमा उम्मेदवारी दिनबाट एमाले पछि हटेको थियो । सांसद क्षितिज थेबेले यसबारेमा संसदीय दलको बैठक बसेर नै निर्णय लिने बताए ।

    ‘हामीले सभामुखमा दाबी गरेनौँ । उपसभामुखको विषयमा पनि अहिले भन्न सकिन्न । संसदीय दलको बैठक बसेरै निर्णयमा पुग्छौँ,’ उनले भने ।

    संसदीय अंक र संवैधानिक नियुक्तिमा सहजता खोज्दै रास्वपा
    रास्वपाले उपसभामुखलाई केवल एउटा पदका रूपमा मात्रै हेरेको छैन । प्रतिनिधिसभामा झिनो मतले दुईतिहाइ पु¥याउन नसकेको र राष्ट्रियसभामा आफ्नो प्रतिनिधित्वसमेत नरहेको रास्वपाले संविधान संशोधनलाई आफ्नो मुख्य एजेन्डामध्ये एक बनाएको छ ।

    सरकारले ‘संविधान संशोधन बहसपत्र’ तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको अध्यक्षतामा कार्यदल गठन गरेर काम सुरु गरिसकेको छ ।

    त्यसकारण भोलि संविधान संशोधनका लागि आवश्यक बहुमत जुटाउने गरी कुनै एक दलसँग ‘गिभ एन्ड टेक’ गर्ने गरी सहमति गर्ने प्रयास भइरहेको रास्वपा स्रोत बताउँछ ।

    अर्कातर्फ रास्वपाले संवैधानिक परिषद्को अंकगणितलाई समेत ध्यान दिएर उपसभामुखमा अर्को दललाई समर्थन गर्ने गरी सोचिरहेको छ ।

    ६ सदस्यीय संवैधानिक परिषद्मा बहुमत नगुम्ने गरी उपसभामुख आफूअनुकूलको दल तथा व्यक्तिलाई दिने सोच रास्वपाको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन् ।

    हालको गणितमा सरकारको पक्षमा प्रधानमन्त्री र सभामुख मात्रै रहने देखिन्छ । राष्ट्रियसभा अध्यक्ष नेकपाको तर्फबाट नारायणप्रसाद दाहाल छन् ।

    अर्को एक सदस्य प्रमुख प्रतिपक्षी दल (कांग्रेस)को तर्फबाट हुनेछन् । प्रधानन्यायाधीश तटस्थ हुने भएकाले उपसभामुख आफू अनुकूल नभए संवैधानिक परिषद्मा सरकारको बहुमत नपुग्ने देखिन्छ ।

    जसकारण संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिमा समस्या परेर सरकार नै असफल हुन सक्ने चिन्ता रास्वपा पंक्तिमा छ ।

    रास्वपाबाहेक दल मिलेर सरकारलाई संवैधानिक परिषद्मा अप्ठ्यारो पार्ने अवस्था आउन नदिन उच्चस्तरीय समझदारीसाथ उपसभामुखलाई समर्थन गर्ने रास्वपाले जनाएको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images