काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको थुनामा दोस्रोपटक म्याद थप्न तयारी भइरहेको छ।
शनिबार (चैत १४) पक्राउ परेका दुवैजनालाई प्रहरीले आइतबार पहिलोपटक पाँच दिनको म्याद थपेको थियो, जुन बिहीबार (चैत १९) सकिँदैछ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले आज म्याद थप गर्ने तयारी रहेको बताए।
लेखकलाई म्याद थपका लागि अदालतमा पेस गरिनेछ भने ओली स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा उपस्थित हुनेछन्।
ओली मृगौलासम्बन्धी समस्याका कारण महाराजगन्जस्थित टिचिङ अस्पतालमा भर्ना छन्। पहिलोपटक म्याद थप्दा पनि लेखक अदालतमा उपस्थित थिए भने ओली भर्चुअल रूपमा उपस्थित भएका थिए।
शनिबारदेखि बयान सुरु भएको लेखकको बयान जारी छ, तर ओलीको बयान अझै लिइएको छैन।
दुवैजनालाई भदौ २३–२४ को जेनजी प्रदर्शनमा प्रहरी बल प्रयोग गर्न निर्देशन दिएको भन्दै गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको थियो।























