काठमाडौं– कम्बोडियामा अवैध अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका थप ८ जना नेपालीको उद्धार गरिएको छ। आकर्षक तलबको प्रलोभनमा परेर भिजिट भिसामा पुगेका उनीहरूलाई बैंककस्थित नेपाली राजदूतावास, कम्बोडिया सरकार तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) को समन्वयमा उद्धार गरी स्वदेश फर्काइएको हो।
दूतावासका अनुसार पछिल्लो समय उच्च आम्दानीको आशामा कम्बोडिया जाने नेपालीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। तर, त्यहाँ पुगेपछि धेरैलाई बन्धक बनाइ अनलाइन ठगी (स्क्यामिङ) गतिविधिमा संलग्न हुन बाध्य बनाउने गरिएको गुनासो बढ्दो छ। समस्यामा परेका कैयन नेपालीलाई यसअघि पनि उद्धार गरी नेपाल फर्काइसकिएको छ।
दूतावासले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२१ मा मात्र १०१ जना नेपाली कम्बोडिया गएकोमा सन् २०२५ सम्म आइपुग्दा यो संख्या ह्वात्तै बढेर ९,६७६ पुगेको छ।
स्क्यामिङ केन्द्रहरूमा कामदारहरूको राहदानी जफत गरिने र बाहिर निस्कन नदिने अवस्था बढेपछि दूतावासले अलपत्र परेका नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराउने व्यवस्था मिलाएको छ। भिसा अवधि सकिएर बसिरहेका वा समस्यामा परेका नेपालीलाई तत्काल राजदूतावास वा एनआरएनए कम्बोडियाका प्रतिनिधिसँग सम्पर्क गर्न पनि आग्रह गरिएको छ।
साथै, दूतावासले छिटो र धेरै कमाइ हुने झुटा प्रलोभनमा नपरी भिजिट भिसाको बहानामा लाओस, म्यानमार र थाइल्याण्ड जस्ता देशहरूमा नजान स्पष्ट चेतावनी दिएको छ।
वैदेशिक रोजगारीका लागि विदेश जाँदा नेपाल सरकारले तोकेको प्रक्रिया पूरा गरी अनिवार्य रूपमा श्रम स्वीकृति लिएर मात्र जान दूतावासले सम्पूर्ण नागरिकलाई आग्रह गरेको छ।























