काठमाडौं- सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा रहेको केही विषय कार्यान्वयनमा गइसकेका छन् भने केही विषय कार्यान्वयनका चरणमा त केही अध्ययनकै चरणमा छन् ।
शासकीय सुधारका लागि सरकारले अघि सारेका ती काममध्ये ‘राष्ट्रिय प्रतिबद्धता’को विषयलाई भने सबै दलले स्वागत गरेका छन् ।
रास्वपाको एकल सरकार बने पनि सबै दलका घोषणापत्रमा भएका विषय समेटिने कुरा नेपालको राजनीतिक अभ्यास र चलनमा नौलो हो ।
सरकारको यस पहलले जनमतको कदर हुने र अन्य दलका विचार र योजना पनि सरकारले स्विकार्दा नागरिक तहमा सरकारप्रति अझ विश्वास बढ्ने दलका प्रतिनिधिहरू नै बताउँछन् ।
संविधानको मूल मर्म, लोकतान्त्रिक प्रणालीको सुदृढीकरण तथा निर्वाचनमार्फत् व्यक्त जनादेशलाई संस्थागत गरी कार्यान्वयन गर्न निर्वाचनमा सहभागी सबै दलका घोषणापत्र, बाचापत्र तथा प्रतिबद्धतापत्रमा समावेश भएका तथा कार्यान्वयनयोग्य विषयहरूको निचोड समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने र तिनलाई कार्यान्वयन गर्ने सरकारको तयारी छ ।
सरकारको उक्त १०० बुँदे कार्यसूचीमा दलका घोषणापत्रमा भएका विषय समेटेर ‘राष्ट्रिय प्रतिबद्धता’ तयार पार्ने मात्र भनिएको छैन, ती विषयलाई सरकारको साझा स्वामित्वमा राखेर नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेन्डासँग आबद्ध गर्दै कार्यान्वयन गर्ने उल्लेख छ ।
‘उक्त प्रतिबद्धतालाई वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा सुधार एजेन्डासँग आबद्ध गरी तत्कालै कार्यान्वयन गर्न तत्काल प्रधानमन्त्री कार्यालयअन्तर्गत आवश्यक संरचना स्थापना गरी जिम्मेवारी दिने,’ कार्यसूचीमा भनिएको छ ।
यसका लागि सरकारले सोमबारदेखि नै पहल सुरु गरिसकेको छ ।
प्रदेशगत रूपमा प्रत्यक्ष जितेका सांसदहरूलाई बोलाएर प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले जिल्लागत रूपमा रहेका समस्या र सुधारका योजना माग गरिरहेका छन् ।
कोसी, कर्णाली र सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरिसकेका उनले संसद् अधिवेशनअघि नै सबै प्रदेशका सांसदसँग एकचरण छलफल गर्ने योजना बनाएका छन् ।
सांसदहरूका समस्या र माग सुनेर सोहीअनुसार दलका घोषणापत्रमा भएका विषयवस्तु केलाउने प्रधानमन्त्री कार्यालयको तयारी छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बजेट निर्माणको चरण सुरु भइसकेकाले र बजेट र नीति तथा कार्यक्रममा सबै सांसदका विषयवस्तु सम्बोधन हुने गरी काम भइरहेको छ ।
‘सबै दलको विचार र बाचालाई सरकारले नै मन्थन गर्ने नौलो अभ्यास’
सरकारको यो कदमप्रति कुनै पनि दलको फरक मत छैन । यदि सरकारले भनेजसरी नै यो विषय कार्यान्वयनमा जाने हो भने नेपालमा नयाँ थिति र अभ्यासको थालनी हुने उनीहरूको विश्वास छ ।
सबै दलका विचार र बाचालाई सरकारले नै मन्थन गर्ने यो नौलो र स्वागतयोग्य अभ्यास भएको अन्य दलका नेताहरूको बुझाइ छ ।
अन्य दलका विषयलाई पनि समेटेर अघि बढ्ने सरकारको कदम राम्रो भएको र यसले सरकारप्रति सबैको अपनत्व पनि हुने विश्वास राख्छन्— एमाले सांसद सुहाङ नेम्वाङ ।
‘सरकारको यो कदम निकै राम्रो छ । सरकारका यस्ता सकारात्मक विषयलाई हामीले पनि सहयोग गर्नुपर्छ,’ नेम्वाङ भन्छन् ।
त्यस्तै, सबै निर्वाचित सांसदलाई प्रधानमन्त्रीले बोलाएर गरेको छलफललाई पनि उनी एउटा असल र नयाँ अभ्यासका रूपमा लिन्छन् ।
सबै सांसदका सबै माग पूरा हुनैपर्छ भन्दा पनि एउटा असल अभ्यासको थालनीलाई सबैले सराहना गर्नुपर्ने उनको बुझाइ छ ।
‘प्रधानमन्त्रीलाई हामी सबैले आ–आफ्ना समस्या र माग राखेका छौँ । तर, ती सबै पूरा हुनैपर्छ भन्ने पनि होइन,’ नेम्वाङ भन्छन्, ‘हाम्रो बजेटको आकार तथा अन्य विषयले गर्दा सबै कुरा एकै पटक पूरा हुन्छ भन्ने छैन । यसअघि यस्ता छलफल नै नभएको सन्दर्भमा यो पहल आफैँमा स्वागतयोग्य हो ।’
त्यस्तै, नेपाली कांग्रेसका सांसद निश्कल राई पनि सरकारको उक्त कदमप्रति सकारात्मक देखिन्छन् ।
हरेक दलका फरक विचार र अवधारणा हुने र ती सबै विषयलाई समेटेर एउटा साझा अवधारणा बनाउँदा देशको सर्वांगीण हित हुने उनको अपेक्षा छ ।
कांग्रेसले बोकेको लोकतान्त्रिक अवधारणा र कम्युनिस्टको समाजवादका सिद्धान्तले उठान गरेका विषय देशको विकास र समृद्धिकै लागि भएकाले सरकारको यस कदमलाई स्वागत नगर्नुको कुनै कारण नभएको उनको बुझाइ छ ।
‘सबै दलको जनमतको कदर गर्ने गरी सरकारले अघि सारेको योजना निकै राम्रो छ । हामी लोकतान्त्रिक, कम्युनिस्ट, राष्ट्रवादलगायत विभिन्न वाद पछ्याएर हिँडेका दलहरूका फरक विचार छन्,’ राई भन्छन्, ‘सरकारले ती सबै विषय समेट्न सक्यो भने त देशहितकै लागि हुन्छ ।’
प्रधानमन्त्रीले सबै सांसदलाई बोलाएर चरणबद्ध छलफल गरेको विषयमा पनि उनी सकारात्मक देखिए । तर, यस्ता साझा विषयलाई संसद् अधिवेशनमा पनि बहसको विषय बनाउन सरकारलाई उनको सुझाव छ ।
नेकपाकी सांसद बलावती शर्मा भने सांसदहरूसँग प्रधानमन्त्रीको छलफलप्रति निराश देखिइन् ।
प्रत्यक्षतर्फका सांसदसँग मात्र छलफल गर्दा संसद्को एउटै बेन्चमा बस्ने समानुपातिक सांसदहरूलाई बेवास्ता गरिनु नहुने उनी बताउँछिन् ।
सोमबार कर्णाली प्रदेशका सांसदहरूलाई बोलाउँदा समानुपातिक सांसद पार्वती विक पनि प्रधानमन्त्री कार्यालय पुगेकी थिइन्, तर प्रत्यक्ष सांसदलाई मात्र बोलाइएको भन्दै उनलाई गेटबाटै फर्काइएको थियो । २७५ जना सांसदको समान हैसियत भएकाले सबैलाई समान व्यवहार गर्न उनको सुझाव छ ।
शर्मा भन्छिन्, ‘मेरो गुनासो के छ भने प्रत्यक्षतर्फका सांसदहरूलाई बोलाउँदै गर्दा समानुपातिकतर्फका सांसदप्रति बेवास्ताचाहिँ गर्नुहुन्न ।’
राष्ट्रिय प्रतिबद्धताको विषयमा भने उनले सरकारको खुलेरै स्वागत गरिन् । दलका घोषणापत्रमा समावेश भएका विषयवस्तु र त्यसका आधारमा दलले पाएको जनमतको कदर गर्ने गरी सरकारले अघि सारेको विषय सराहनीय भएको उनको बुझाइ छ ।
‘सरकारले सबै दलको घोषणापत्रप्रति अपनत्व लिने विषय आफैँमा स्वागतयोग्य छ । हाम्रा घोषणापत्रमा भएका १–२ वटा विषय मात्र पनि अपनत्व लिइदियो भने सराहनीय कदम हुन्छ,’ उनले भनिन्, ‘बाँकी विषयमा पनि हामी सरकारलाई झक्झकाउँछौँ ।’ -पत्रपत्रिकाबाट























