काठमाडौं– जेनजी आन्दोलनका क्रममा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेका छविलाल रिजाल पक्राउ परेका छन् ।
उनलाई मंगलबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले सुविधानगरस्थित निवासबाट नियन्त्रणमा लिएको हो ।
रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ र अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ ।
उनीमाथि जेनजी आन्दोलनका क्रममा भएको व्यक्तिहत्यासँग सम्बन्धित आरोप छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले रिजालसहित उच्च तहका अधिकारीहरू गोकर्णमणि दुवाडी, रमेश लेखक र केपी शर्मा ओलीविरुद्ध कारबाही सिफारिस गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयपछि सो सिफारिस कार्यान्वयन हुँदै आएको छ ।
आयोगले आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग भएको, गोली शरीरको माथिल्लो भागमा लागेको र भीड नियन्त्रणका उचित उपाय नअपनाइएको निष्कर्ष निकालेको छ ।
रिजालले घुँडामुनि रबरको गोली चलाउन आदेश दिएको दाबी गरे पनि प्रमाणसँग मेल नखाएको उल्लेख गरिएको छ ।
रिपोर्टअनुसार, रिजालमाथि लापरवाहीका कारण ज्यान गएको ठहर गर्दै मुलुकी फौजदारी अपराध संहिताको दफा १८२ अन्तर्गत कारबाही सिफारिस गरिएको छ ।
जसअनुसार तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ ।























