काठमाडौं- नेपाली युवाहरूको पहल, सीप र स्वदेशी लगानीमा तयार पारिएको नयाँ राइड-सेयरिङ एप ‘ल बसम’ (La Basam) औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
‘हामी सबै सँगै बसौं र यात्रा गरौं’ भन्ने मूल नारासहित सुरु गरिएको यो प्लेटफर्मले नेपालमै विकसित प्रविधिको प्रयोगमार्फत आत्मनिर्भरतातर्फको नयाँ संकेत दिएको छ ।
कम्पनीले आइतबार पत्रकार सम्मेलन गर्दै राइड-सेयरिङ एप सार्वजनिक गरेको हो ।
काठमाडौंको तारकेश्वर-८, शेषमतिमा कार्यालय रहेको ‘ल बसम’ हाल काठमाडौं उपत्यकामा मात्र सेवा सुरु गरेको छ ।
छिट्टै पोखरा, बुटवल, विराटनगर र चितवन जस्ता प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, निकट भविष्यमा फुड डेलिभरी सेवा समेत सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
सुरुआती चरणमा राइड सेयरिङका चालकहरुलाई कुनै सेवा शुल्क नलाग्ने गरी प्रयोग गर्न छुट दिइएको कम्पनीले जनाएको छ ।























