images
images
  • कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली गन्तव्यतिर लागे

    काठमाडौं- कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ ।

    कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो ।

    हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ ।

    साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले त्यही मार्ग प्रयोग गरी यात्रुहरूलाई गन्तव्यमा पठाउने व्यवस्था मिलाइएको हो ।

    यसअघि पनि कुवेत ट्रान्जिटमा फसेका ६९ जना नेपालीलाई रियादस्थित नेपाली दूतावाससँगको सहकार्यमा स्थलमार्ग हुँदै पठाइएको थियो ।

    कुवेत र कतार दुवै देशको हवाई सेवा प्रभावित भएपछि ट्रान्जिटमा रोकिएका नेपालीहरूलाई पहिलो चरणमा स्थलमार्गबाट साउदी पुर्‍याउने र त्यसपछि हवाई मार्गबाट अन्तिम गन्तव्यमा पठाउने प्रक्रिया जारी छ ।

    यस प्रयोजनका लागि कुवेत र कतारमा रहेका नेपालीहरूलाई ट्रान्जिटका लागि साउदी भिसा लिन आग्रह गरिएको थियो ।

    सोही अनुसार प्रभावित यात्रुहरूले अनलाइनमार्फत भिसा आवेदन दिएका थिए र भिसा प्राप्त गरेपछि दूतावासको सहजिकरणमा उनीहरूलाई साउदी पठाउने काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images