धनगढी– सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा ठूलो दल बनेको छ ।
विभिन्न दलको एकताबाट बनेको नेकपासँग ५३ सदस्यीय प्रदेश सभामा २२ सांसद छन् ।
हाल प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ । कांग्रेस र एमालेको गठबन्धन कायम रहन्छ वा विकल्प खोजिन्छ भन्ने बहस सुरु भएको छ ।
माओवादी केन्द्रका सभामुखसहित ११, नाउपाका ७ र एकीकृत समाजवादीका ४ सांसद मिलेर नेकपा २२ सदस्यीय बनेको हो ।
तर एकीकृत समाजवादी नेता दीर्घ सोडारी निलम्बनमा परेकाले वर्तमानमा नेकपाका २१ सांसद छन् ।
अहिले प्रदेश सभामा कांग्रेससँग १८, एमालेसँग ११, राप्रपा र स्वतन्त्रसँग एक–एक सिट छ ।
स्वतन्त्रबाट निर्वाचित डा. ताराप्रसाद जोशी रास्वपामा प्रवेश गरेपछि प्रदेश सभाको एक सिट रिक्त छ ।
ठूलो दल बनेपछि नेकपाले सक्रियता बढाएको छ ।
संसदीय दलका नेता खगराज भट्टले मुख्यमन्त्रीलाई सात दिनभित्र हिउँदे अधिवेशन बोलाउन अल्टिमेटम दिएका छन् ।
भट्टका अनुसार सरकारले विकास काम रोक्नुका साथै बजेट कार्यान्वयनमा कमजोरी देखाएको छ ।
उनले मुख्यमन्त्रीमाथि भ्रष्टाचार आरोपको छानबिन गर्न संसदीय समिति बनाउने माग पनि राखेका छन् ।
प्रदेश सभा सदस्य ओमविक्रम भाटले कम्युनिस्ट पार्टीबीचको एकतालाई स्वागत गर्दै अबको बाटो ‘आत्ममन्थन’ हुनु आवश्यक रहेको बताए ।
भाटका अनुसार अहिले प्राथमिकता सरकार परिवर्तन मात्र नभई जनउत्तरदायी सरकार बनाउनु हो ।
नेकपा संसदीय दलका खगराज भट्टका अनुसार हालको सरकार प्राविधिक रूपमा टिके पनि जनताको नजरमा कमजोर देखिन्छ ।
तर ओमविक्रम भाट तत्कालै सरकार ढाल्ने पक्षमा छैनन् र सदनमार्फत दबाब दिने नीति अपनाइने बताए ।























