images
images
  • टिकटकले नेपालमा भ्याट नतिर्ने अडान छोडेन

    काठमाडौं- टिकटकले नेपालमा कारोबार गरेबापतको मूल्य अभिवृद्धि कर (भ्याट) नतिर्ने अडान राखेको छ ।

    दुई आर्थिक वर्ष ०८०/८१ र ०८१/८२ मा लगातार कुल एक करोड ३६ लाख भ्याट तिरेको टिकटकले उप्रान्त नतिर्ने जनाएको हो । चालू आव ०८२/८३ मा टिकटक प्रालिले एक पैसा पनि भ्याट तिरेको छैन ।

    फागुन मसान्तसम्म पनि नतिरेपछि ठुला करदाता कार्यालयले मंगलबार टिकटकका नेपालस्थित प्रतिनिधिलाई बोलाएको थियो ।

    टिकटकका प्रतिनिधिका रूपमा बिक्की अग्रवाल कार्यालयमा उपस्थित भए । तर, उनले गुगल र एप्पलले तिर्ने भ्याटमा टिकटकको कर समेटिने दाबी गर्दै छुट्टै भ्याट नतिर्ने अडान राखेको प्रमुख कर प्रशासक केदारनाथ शर्माले जानकारी दिए ।

    ‘टिकटक एप डाउनलोड गर्ने प्लाटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरका आधारमा दुवै कम्पनीहरूले भ्याट तिर्दै आइरहेकाले भ्याट नतिर्नुपर्ने दाबी उहाँले गर्नुभएको छ । यसलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गर्न भनेका छौँ । केही दिनमा उहाँहरूले यसलाई पुष्टि गर्ने कागजात पेस गर्छु भन्नुभएको छ । हामीले विद्यमान कानुन र कार्यविधि हेरेर आवश्यक निर्णय लिनेछौँ,’ शर्माले भने ।

    टिकटकका प्रतिनिधि अग्रवालले आफूहरूले प्रत्यक्ष रूपमा विद्युतीय सेवा कर (डिएसटी) तिरे पनि भ्याट आफ्नो दायित्वमा नपर्ने तर्क राखेको शर्माको भनाइ छ ।

    तर, कर कार्यालयले भने यसलाई सहज नमानेकाले थप जाँचबुझ गर्ने बताएको छ ।

    गैरबासिन्दाको रूपमा नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने भएकाले टिकटकलगायतका बहुराष्ट्रिय प्रविधि कम्पनीहरूलाई डिएसटी र भ्याट लगाउँदै आएको छ ।

    खासगरी गैरबासिन्दा कम्पनीले नेपालमा कम्पनी दर्ता गरेर सेवा–प्रवाह गरेमा डिएसटी पनि तिर्नुनपर्ने र दर्ता भएको सम्बन्धित कार्यालयबाट भ्याट तिर्न सक्छ ।

    मन्त्रालय स्रोतका अनुसार टिकटकले नेपालमा कतै लोकल कम्पनी दर्ता गरेर भ्याट तिर्न थालेको आशंकामा विभागले विवरण खोजी गरेको थियो ।

    तर, त्यस्तो कम्पनी खडा गरेको नभेटिएपछि ठुला करदाता कार्यालयलाई टिकटकका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्न निर्देशन दिएको थियो । सोही आधारमा कार्यालयले मंगलबार बोलाएर सोधपुछ गरेको हो ।

    ०७९ यता २१ कम्पनीले तिरे एक अर्ब १३ करोड भ्याट
    ०७९/८० यता हालसम्म २१ कम्पनीले ठुला करदाता कार्यालयमा एक अर्ब १३ करोड ४८ लाख ३० हजार १४० रुपैयाँ भ्याट तिरेका छन् । त्यस्तै, डिएसटीबापत ११ करोड ९३ लाख ३२ हजार २३७ रुपैयाँ तिरेका छन् ।

    सर्वाधिक राजस्व तिर्नेमा मेटा प्लाटफम्र्स आयरल्यान्ड ९फेसबुक० लिमिटेड छ । हालसम्म मेटाले ५२ करोड १४ लाख राजस्व तिरेको छ । जसमा ४६ करोड २८ लाख १६ हजार ८२९ रुपैयाँ भ्याट छ भने पाँच करोड ८६ लाख ३७ हजार ४४८ रुपैयाँ डिएसटी तिरेको छ ।

    दोस्रोमा गुगल एसिया प्यासिफिक प्रालि छ । उसले हालसम्म २५ करोड ६३ हजार ९३२ रुपैयाँ तिरेको छ । जसमा २२ करोड ५१ लाख भ्याट र दुई करोड ४८ लाख डिएसटी तिरिएको छ ।

    एनसिएस पियर्सन इंकले १४ करोड ९२ लाख ११ हजार ५५० कुल राजस्व तिरेको छ, जसमा १४ करोड पाँच लाखको भ्याट मात्रै तिरेको छ भने ८६ लाख ७५ हजार ७१९ रुपैयाँ डिएसटी तिरेको छ । डिएसटीमा दर्ता हुनेमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसिसिए), प्रोमेट्रिक जापान कम्पनी लिमिटेड, नेटफ्लिक्स प्रालि, अमेजन वेब सर्भिसेस इंक, एप्पल सर्भिसेस प्रालि, एप्पल डिस्ट्रिब्युसन इन्टरनेसनल लिमिटेड, टिकटक प्रालि, गुगल डिजिटल इंक, पियर्सन एजुकेसन लिमिटेड, गुगल आयरल्यान्ड लिमिटेड, माइक्रोसफ्ट रिजनल सेल्स प्रालि, अमेजन डटकम सर्भिसेस एलएलसी, जोहो कर्पोरेसन प्रालि, लिंक्डइन सिंगापुर प्रालि, एडोबी सिस्टम्स सफ्टवेयर आयरल्यान्ड लिमिटेड, वार्नर मिडिया डाइरेक्ट एसिया, एब्स्को इन्टरनेसनल इंक र फ्ल्यास टपअप एलएलसी छन् ।

    शर्माका अनसार टिकटक एप डाउनलोड गर्ने प्लाटफर्म गुगलको प्ले स्टोर र एप्पलको एप स्टोरका आधारमा दुवै कम्पनीहरूले भ्याट तिर्दै आइरहेकाले भ्याट नतिर्नुपर्ने दाबी टिकटकले गरेको छ । यसलाई पुष्टि गर्ने आधिकारिक कागजात पेस गरेपछि विद्यमान कानुन र कार्यविधि हेरेर आवश्यक निर्णय लिने जनाइएको छ । -पत्रपत्रिकाबाट

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images