काठमाडौँ । भारतमा अबको झण्डै चार महिनासम्म कोरोना भाइरसको उच्च जोखिम रहने विज्ञहरुले बताएका छन्।
त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा कोरोनाविरुद्ध लड्न अझै १ सयदेखि १ सय २५ दिन गाह्रो हुने जानकारी दिइएको हो।
‘सङ्क्रमितको सङ्ख्या त दिन प्रतिदिन घट्दै गइरहेको छ, तर पूर्णरुपमा कोरोना न्यूनीकरण भइसकेको अवस्था भने छैन। अझै पनि खतरापूर्ण अवस्था नै छ’, नीति आयोगका सदस्य डा। भिके पौलले भने, ‘खोपको प्रभावकारिता बढीरहेको भए पनि अझै पनि प्रहरीहरु संक्रमणको उच्च जोखिममा छन्।’
भारतमा महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ। एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको डा।पौलले जानकारी दिए।
भारतमा आगामी जुलाईभित्रमा ५० करोड नागरिकलाई खोप लगाइसक्ने योजना छ। खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा त्यहाँका अधिकारीहरुले गरेका छन्।
सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइसकिएको जनाएको छ। त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन्।


विश्व खबर 



















