images
images
  • पटक–पटक प्रधानमन्त्री, मन्त्री र सांसद बनेकाहरू चुनावी प्रयोजनका लागि मात्रै लुम्बिनीमा, विकास शून्य

    बुटवल– लुम्बिनी प्रदेशको चुनावी परिदृश्यमा नयाँ अनुहारभन्दा पुरानै नेताहरूको पुनरावृत्ति बढी देखिन्छ ।

    तीन/चार दशकदेखि एउटै नेताले बारम्बार जनादेश माग्ने प्रवृत्ति यहाँ सामान्यजस्तै बनेको छ ।

    नवलपरासीका हृदयेश त्रिपाठी २०४८ सालदेखि निरन्तर चुनावी राजनीतिमा सक्रिय छन् ।

    विभिन्न दल परिवर्तन गर्दै उनले पाँच पटक सांसद र पाँच पटक मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

    यसपटक पनि उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ बाट चुनावी मैदानमा छन् ।

    कपिलवस्तुका बृजेशकुमार गुप्ता २०५६ सालदेखि संसदीय राजनीतिमा छन् ।

    प्रतिनिधिसभा र संविधान सभामा पटक–पटक निर्वाचित भएका उनी यसपटक कपिलवस्तु–२ बाट प्रतिस्पर्धामा छन् ।

    एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल २०५१ सालदेखि निरन्तर संसदीय राजनीतिमा सक्रिय छन् ।

    पाँच पटक सांसद र आठ पटक मन्त्री बनेका पौडेल रूपन्देही–२ बाट पुनः चुनाव लडिरहेका छन् ।

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पटक–पटक निर्वाचन क्षेत्र फेर्दै यसपटक रुकुम पूर्व पुगेका छन् ।

    त्यस्तै, गोकर्ण विष्ट, सर्वेन्द्रनाथ शुक्ला, शंकर पोखरेल, वर्षमान पुन, मोहम्मद इस्तियाक राई र घनश्याम यादव अहिर जस्ता नेता दशकौँदेखि संसद र सरकारमा घुमिरहेकै छन् ।

    गुल्मीमा चन्द्र भण्डारी र प्रदीप ज्ञवाली बीच पाँचौँ पटक प्रतिस्पर्धा हुँदैछ ।

    विश्लेषकहरूका अनुसार लामो समयदेखि सत्तामा रहेका नेताहरूको प्रशासनिक पहुँच, विकास बजेटमा प्रभाव, कार्यकर्ता सञ्जाल र राजनीतिक नियुक्तिमा प्रभावका कारण उनीहरू पुनः शक्तिमा फर्किरहन्छन् ।

    विश्लेषक रामचन्द्र श्रेष्ठ भन्छन्, ‘पार्टीभित्रै पुस्तान्तरण अवरुद्ध हुँदा एउटै अनुहार दोहोरिन्छ । युवालाई कार्यकर्तामै सीमित गर्ने प्रवृत्तिले नयाँ नेतृत्व विकास हुन सकेको छैन ।’

    लुम्बिनीको यो चुनावी तस्वीरले पार्टीभन्दा व्यक्ति बलियो हुने र मतदाताले नयाँ विकल्पभन्दा चिनेकै अनुहार रोज्ने प्रवृत्ति अझै कायम रहेको संकेत गर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images