कैलाली– सुदूरपश्चिममा वामपन्थी नेतृत्वका प्रमुख पात्र मानिएका भीम रावल यस पटक नयाँ दलबाट अछाम–१ मा चुनावी प्रतिस्पर्धामा छन् ।
२०४८ देखि २०७४ सम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट चुनाव लड्दै आएका रावल २०७९ मा जिल्लाबाट सर्वसम्मत सिफारिस हुँदा पनि टिकट नपाएपछि अन्ततः पार्टीबाट निष्कासित भए ।
अहिले उनी नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएर मत मागिरहेका छन् ।
चुनावी सभामा देउडा र स्थानीय ठाडी भाकासहित भाषण गर्ने रावलले यस पटक फरक चुनाव चिह्न लिएर आउनुको कारण एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको मतभेदलाई मान्छन् ।
२०७४ पछि पार्टी एकता, सरकार सञ्चालन र एमसीसीलगायत मुद्दामा उनले ओलीको खुलेर आलोचना गरेका थिए ।
१० बुँदे सहमति कार्यान्वयन, पार्टीभित्र लोकतन्त्र र नेतृत्व शैलीका विषयमा विवाद बढ्दै जाँदा उनी पार्टीको मूलधारबाट किनारामा परे ।
अछामको साँफेबगरमा जन्मिएका रावल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
जेल जीवन, आन्दोलन र लामो राजनीतिक यात्रापछि उनी गृहमन्त्री, उपप्रधान तथा रक्षामन्त्रीसमेत बने ।
सुदूरपश्चिममा कांग्रेसका शेरबहादुर देउवा प्रजातान्त्रिक धारका अगुवा भएजस्तै वाम धारमा रावल प्रभावशाली मानिन्थे ।
२०७९ मा टिकट नपाएपछि एमालेले सुदूरपश्चिममा कमजोर प्रदर्शन गरेको विश्लेषण भइरहँदा, यस पटक रावलको उम्मेदवारीले चुनावी समीकरण फेरिने आकलन छ ।
अछाम–१ मा एमाले, कांग्रेस, माओवादी, रास्वपालगायत दलका उम्मेदवारसँग उनको प्रतिस्पर्धा हुनेछ ।
यो निर्वाचन रावलका लागि केवल संसदीय सिटको लडाइँ मात्र होइन, सुदूरपश्चिमको ‘अभिभावक’ नेताको हैसियत पुनःस्थापित गर्ने अवसरका रूपमा हेरिएको छ ।
चुनावी नतिजाले उनको राजनीतिक भविष्य र क्षेत्रीय नेतृत्वको दाबी दुवै निर्धारण गर्नेछ ।























