काठमाडौं– गगन थापा र बालेन शाहलाई आ–आफ्ना दलले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि मधेशको चुनावी माहोल तातेको छ ।
कांग्रेसले थापालाई नयाँ पुस्ताको नेतृत्व भन्दै सर्लाही–४ बाट उम्मेदवार बनाएको छ भने रास्वपाले बालेनलाई ‘मधेशको छोरा’ र मधेशी मूलका सम्भावित पहिलो प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेको छ ।
दुवै नेताको सक्रियतासँगै मधेश केन्द्रित दलहरू ओझेलमा परेको विश्लेषण छ ।
२०६४ पछि उदाएका उपेन्द्र यादव र राजेन्द्र महतो लगायतका नेताहरू यसपटक कमजोर देखिएका छन् ।
गुटबन्दी, विभाजन र जनअपेक्षा पूरा गर्न नसकेको आरोपले उनीहरूलाई चुनौती थपिएको छ ।
यसपटक मधेशमा कांग्रेस, एमाले र रास्वपा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
प्रतिनिधिसभाका ३२ क्षेत्रमा १,०५४ उम्मेदवार चुनावी मैदानमा छन् ।
जनमतका अध्यक्ष सिके रावत प्रभु शाह र अन्य मधेश केन्द्रित नेताहरूलाई पनि जित सहज नहुने आँकलन छ ।
ठूला दलहरूको आक्रामक प्रचार र ‘प्रधानमन्त्री कार्ड’को प्रयोगले यसपटक मधेशको चुनावी समीकरण बदलिएको देखिन्छ ।























