images
images
  • मधेस प्रदेशमा एमाले नेतृत्वको सरकार गठन गर्नु गल्ती भो !

    धनुसा– धनुषा–४ मा चुनावी सरगर्मी बढ्दै जाँदा नेकपा (एमाले)का उपमहासचिव तथा पूर्वमन्त्री रघुवीर महासेठ फेरि प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उत्रिएका छन् ।

    लगातार दुई पटक जित हात पारेका महासेठ तेस्रो कार्यकालका लागि मत माग्दै घरदैलो अभियानमा व्यस्त छन् ।

    उनले आफू जनतामैत्री र काम गर्ने नेता भएको दाबी गरे । मधेशमा एमाले कमजोर अवस्थामा रहेका बेला आफू इन्चार्ज बनेपछि पार्टी पहिलो शक्तिमा स्थापित भएको उनको भनाइ छ ।

    ‘एमाले वा रघुवीर महासेठले जे भन्छ, त्यो गर्छ भन्ने विश्वास जनतामा छ,’ उनले भने ।

    जेनजी आन्दोलन, सुशासन र भ्रष्टाचारबारे उठेका प्रश्नहरूबारे उनले सरकार पूर्णतः निर्दोष नभएको स्वीकारे। आफ्नो पार्टी नेतृत्वको सरकार हुँदा सुरक्षा सूचनालाई पर्याप्त गम्भीरतापूर्वक लिन नसकिएको भन्दै त्यसलाई आंशिक कमजोरी माने ।

    तर एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई मात्र ‘टार्गेट’ गरिएको दाबी गरे ।

    नेतृत्व परिवर्तनको मागबारे बोल्दै उनले उमेरभन्दा सोच र दृष्टिकोण महत्वपूर्ण हुने बताए ।

    ओलीको ऊर्जा अझै अनुकरणीय रहेको दाबी गर्दै उनले ७४ वर्षको उमेरलाई परिवर्तनको बाधकका रूपमा चित्रण गर्न नमिल्ने बताए ।

    झापामा स्वतन्त्र छविका नेता बालेन शाहले ओलीलाई दिएको चुनौतीबारे महासेठले उनलाई राजनीतिक रूपमा अपरिपक्व भन्दै तुलना नै गर्न नमिल्ने बताए। बालेनको पछाडि कुनै शक्ति सक्रिय रहेको आरोपसमेत लगाए ।

    मधेश र कोशी प्रदेशमा नयाँ शक्तिले प्रत्यक्षतर्फ प्रभाव पार्न नसक्ने उनको दाबी छ ।

    धनुषा–४ मा आफ्नो मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको बताउँदै महासेठले विकास, सडक पूर्वाधार, विद्यालय स्तरोन्नति र स्वास्थ्य संस्थाको विस्तारलाई उपलब्धिका रूपमा प्रस्तुत गरे ।

    सिँचाइ क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको स्वीकार्दै उनले २०७४ सालपछि भौतिक पूर्वाधारमा उल्लेख्य फड्को मारेको दाबी गरे ।

    चुनावी नतिजाबारे ठोकुवा गर्न नसकिने भन्दै उनले अन्ततः जनताको मत नै निर्णायक हुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images