images
images
  • रिलायन्स स्पिनिङ मिल्स सेयर प्रकरण : ब्रोकरसँगको सेटिङमा सेयरमा कृत्रिम मूल्यवृद्धि

    काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य दोस्रो कारोबार दिनमै ९.६४ प्रतिशतले बढेर ३६१.८० रुपैयाँ पुगे पनि यसको पृष्ठभूमि भने सन्तोषजनक देखिएको छैन ।

    यसले बजारमा वास्तविक मागभन्दा सीमित कारोबारकै कारण मूल्य उचालिएको संकेत देखिएको छ । सर्वसाधारणका लागि खुला रूपमा दोस्रो बजारमा आएको देखिए पनि सेटिङमा आफूअनुकुल बेचेर आफूअनुकुल नै किनेर मूल्य बढाएको देखिएको छ ।

    मंगलबार र वुधवार भएको कारोवारमा सिमित ब्रोकरहरूबीचमात्र कारोवार भएको देखिएको छ । बुधवार ब्रोकर नम्बर ८४, ४७, १४ र १० ले मात्र कारोवार गरेका छन् । मंगलबार पनि सिमित ब्रोकरले मात्र कारोवार गरेका थिए ।

    बुधबार जम्मा ६० कित्ता सेयरमात्र ६ पटकको कारोबारमा किनबेच भएको छ । यति न्यून परिमाणको कारोबारबाट ३१.८० रुपैयाँको मूल्य वृद्धि हुनु स्वाभाविक बजार संकेतभन्दा पनि तरलताको अभावमा भएको मूल्य उतारचढाव हुन सक्ने देखिन्छ ।

    ओपन प्राइस ३२८ रुपैयाँबाट सुरु भएको सेयर दिनको अन्त्यमा ३६१.८० रुपैयाँमा बन्द भयो ।

    उच्च मूल्य पनि ३६१.८० रुपैयाँ नै कायम हुँदा कारोबार दायरा सीमित रहेको देखिन्छ । यस्तो अवस्थाले साना कारोबारले नै मूल्यलाई अस्वाभाविक रूपमा माथि धकेल्न सक्छ ।

    कम्पनीको कुल सूचीकृत सेयर संख्या १ करोड ९० लाख कित्ता छ र चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँ छ । हालको मूल्यअनुसार बजार पूँजीकरण करिब ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको देखिए पनि वास्तविक कारोबारको आधार कमजोर देखिन्छ ।

    बजार पूँजीकरण उच्च देखिए पनि दैनिक किनबेच अत्यन्तै न्यून हुनु लगानीकर्ताका लागि जोखिम संकेत हुन सक्छ ।

    सीमित सेयर घुमिरहेको अवस्थामा केही ठूला लगानीकर्ताले मूल्यमा प्रभाव पार्ने सम्भावना रहन्छ । सूचीकृत कम्पनीहरूको प्रारम्भिक कारोबारमा देखिने उत्साह प्रायः मनोवैज्ञानिक प्रभावका कारण हुन्छ ।

    तर वास्तविक वित्तीय अवस्था, नाफा क्षमता, उद्योगको प्रतिस्पर्धात्मक अवस्था र दीर्घकालीन रणनीति स्पष्ट नभएसम्म मूल्य वृद्धिलाई स्थायित्वको संकेत मान्न सकिँदैन ।

    वर्तमान अवस्थामा रिलायन्स स्पिनिङ मिल्सको मूल्य वृद्धि आधारभूत सूचकभन्दा बढी सीमित कारोबारको परिणाम हो भने आधार स्थापित भएको छ । सेयर बजारमा मूल्यभन्दा भोल्युम महत्वपूर्ण सूचक मानिन्छ ।

    न्यून भोल्युममा भएको उच्च वृद्धि प्रायः दिगो हुँदैन । त्यसैले लगानीकर्ताले सतही मूल्य उछाललाई मात्रै आधार नबनाई कम्पनीको वित्तीय प्रतिवेदन, उद्योगको अवस्था र दीर्घकालीन सम्भावनाको अध्ययनपछि मात्र निर्णय लिनु उपयुक्त हुनेछ ।

    यही कारण ‘सेटिङ’मार्फत आईपीओ निष्कासन गरिएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडमा लगानी गरेका सर्वसाधारण लगानीकर्ता घाटामा परेका छन् ।

    बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाको उच्च मूल्यमा आईपीओ भरेका लगानीकर्ताले सेयर अहिले प्रतिकित्ता ३०० मा नै सेयर बिक्री तिर लागेका हुन् ।

    कम्पनीको ११ लाख ५५ हजार ९६० कित्ता सेयर गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

    बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण गरिएको भन्दै धेरै लगानीकर्ताले संस्थागत मूल्यांकनलाई नै भरोसा गरेर आवेदन दिएका थिए । तर सूचीकरणको पहिलो दिनमै बजारले कम्पनीको सेयर मूल्यलाई आधाभन्दा कममा सीमित गरिदिँदा ‘बुक बिल्डिङ’ प्रक्रियामाथि नै प्रश्न उठ्न थालेको छ ।

    रिलायन्स स्पिनिङको सेयर कारोबारमा मंगलबार र बुधबार अस्वाभाविक गतिविधि देखिँदा बजारमा चासो बढेको छ ।

    कारोबार सुरु भएको दिनमै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागे पनि केही कारोबार अत्यन्तै कम मूल्यमा भएको पाइएपछि बट प्रयोग भएको आशंका गरिएको छ।

    मंगलबारको कारोबारमा कम्पनीको जम्मा ११ पटक कारोबार भएको थियो । तीमध्ये १३० कित्तामध्ये ९० कित्ता सेयर ५८ नम्बर ब्रोकरमार्फत मात्र खरिद गरिएको पाइएको छ ।

    त्यस्तै, बिक्रीतर्फ पनि ११ मध्ये ८ वटा कारोबार सोही ब्रोकरमार्फत भएको देखिएको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images