रूपन्देही– संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि नेपाली दलहरूले अपनाउँदै आएको परम्परागत चुनावी प्रचार शैली यसपटक लुम्बिनी प्रदेशमा उल्लेखनीय रूपले परिवर्तन भएको छ ।
पहिले जस्तो विशाल सभा, हेलिकप्टरबाट नेताको ओसारपसार, मञ्चीय भाषण र झण्डा–ब्यानर केन्द्रित प्रदर्शनको सट्टा अहिले घरदैलो, टोलसभा र खेतबारीसम्म पुग्ने प्रत्यक्ष संवादको चलन बढेको छ ।
प्रदेशका १२ जिल्लामा शीर्ष नेतादेखि पहिलोपटक उम्मेदवार बनेकाहरू सबै गाउँ–गाउँ, बस्ती–बस्ती पुगेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका संयोजक हिमाली जिल्ला रुकुम पूर्वका दुर्गम गाउँमा पैदल यात्रा गर्दै स्थानीयका गुनासा सुन्न र विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दा बुझ्दै छन् ।
हेलिकप्टरबाट भाषण गरेर फर्किने पुरानो शैली त्यागेर उनी स्थानीयसँग प्रत्यक्ष संवादमा छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नं. २ मा, गोकर्ण विष्ट गुल्मी–२ मा र महासचिव शंकर पोखरेल दाङ–२ का थारू बस्तीमा घरदैलो, चुलोछेउमा भेटघाट गर्दै स्थानीय समस्या बुझिरहेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी, राप्रपाका वरिष्ठ नेता ध्रुवबहादुर प्रधान, जसपाका सर्वेन्द्रनाथ शुक्ला लगायतका पुराना नेता पनि गाउँ–गाउँ पुगेका छन् ।
यसैगरी, उद्योगी उम्मेदवार विनोद चौधरी, चुन्नु पौडेल र स्वास्थ्य पेशागत उम्मेदवारहरू जस्ता नयाँ खेलाडीहरू पनि मतदातासँग प्रत्यक्ष सम्पर्कमा छन्। उनीहरूले उद्योग, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारका विषयलाई प्राथमिकता दिएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार प्रचारशैली परिवर्तन हुनुमा मुख्य कारण निर्वाचन आयोगको आचारसंहिता, प्रविधिको प्रयोग, मतदाताको चेतना वृद्धि र पुराना दलप्रति अविश्वास हुन् ।
घरदैलो, चुलोछेउको संवाद र सामाजिक सञ्जाल मार्फत सानो भेटघाट पनि व्यापक रूपमा फैलिन थालेको छ ।
स्थानीय मुद्दा अनुसार प्रचार एजेन्डा परिमार्जन हुँदैछ ।
हिमाली–पहाडी जिल्लामा सडक, स्वास्थ्य र शिक्षा, तराई–मधेसमा भूमि, सिँचाइ, उद्योग र रोजगारी, सहरी क्षेत्रमा अव्यवस्थित बसोबास, ट्राफिक र खानेपानी मुख्य प्राथमिकतामा छन् ।
भान्साघरमै चिया पिउने, स्थानीय परिकार खाने र परिवारसँग गफ गर्ने शैलीले मतदातासँग भावनात्मक नजिकता बढाएको छ ।
उम्मेदवारहरूले फोटो र भिडियो मार्फत प्रत्यक्ष सहभागिताको दृश्य सार्वजनिक गरिरहेका छन् ।
कतिपयले यसलाई ‘चुनावी स्टन्ट’ भने पनि विश्लेषकहरूले यसलाई मतदाता टर्नआउट बढाउने र व्यक्तित्वको प्रभाव पार्ने सकारात्मक रणनीति मान्छन् ।
विश्लेषक ऋषि आजाद भन्छन्, ‘जनताको नाडी छाम्ने अभियान चुनावी रणनीति मात्र नभएर दीर्घकालीन राजनीतिक संस्कारको सुरुआत हो कि होइन, यसको परीक्षण मतपेटिकाले गर्नेछ ।’
यसरी, लुम्बिनीमा चुनावी प्रचार मञ्चबाट चुलोमा झरेको, भाषणबाट संवादमा रूपान्तरित भएको र भीडबाट व्यक्तिमा केन्द्रित भएको देखिन्छ।























