काठमाडौं– भक्तपुरस्थित आफ्नै निवासबाट मध्यराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्ति भंग गरेको आरोपमा मुद्दा अघि बढाइने भएको छ ।
उक्त कसुरमा अनुसन्धानका लागि प्रहरीले अधिकतम २५ दिनसम्म हिरासतमा राख्न सक्ने कानुनी प्रावधान छ ।
काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगको पत्राचारका आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको हो ।
उनका गतिविधि र अभिव्यक्तिले सार्वजनिक शान्तिमा असर पुगेको भन्दै निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर भद्रकालीलाई औपचारिक पत्र पठाएको उनले जानकारी दिए ।
आयोगको निष्कर्षअनुसार उनलाई बाहिर राख्नु सार्वजनिक सुरक्षाका लागि चुनौतीपूर्ण हुने देखिएकाले राति नै पक्राउ गरिएको भट्टराईको भनाइ छ ।
प्रसाईंलाई हिरासतमा राख्ने अनुमति लिन कार्यालय समय सुरु हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।
यसअघि केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पनि उनलाई बारम्बार पक्राउ गरेको थियो ।























