काठमाडौं- चितवन क्षेत्र नम्बर ३ को नतिजा घोषणा गर्ने सेतोपाटी अनलाइनमाथि कारबाही प्रक्रिया अघि बढाएको छ ।
आइतबार सेतोपाटी डटकमले निर्वाचन तथा मतदातालाई प्रभाव पार्ने किसिमबाट चुनावी विश्लेषण भनी मत सर्वेक्षणको शैलीमा उम्मेदवारको नाम नै किटान गरी जित्नेछन्…’ भन्दै समाचार सम्प्रेषण गरेपछि प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस विषयमा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०८२ को व्यवस्थाअनुरूप कारबाही प्रक्रिया प्रारम्भ गरिएको काउन्सिलले जनाएको छ ।
आजै निर्वाचन आयोगले कारबाहीका लागि काउन्सिललाई पत्राचार गरेको थियो ।
निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा निर्वाचन आचारसंहिता, २०८२ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन जाने बेहोरा सम्बन्धित सबैलाई काउन्सिलले स्मरण गराएको छ ।
काउन्सिलले सोमबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ,’निष्पक्ष निर्वाचन एवं मतदाताको विवेकलाई आमसञ्चार माध्यमले सम्मान गर्नुपर्ने हुँदा तदनुरूप सामग्री सम्प्रेषण गर्न साथै मतदाताको विवेकलाई प्रभाव पार्ने किसिमबाट विश्लेषण र मत सर्वेक्षणसहितको सामग्रीलाई स्थान नदिन, कसैको पक्ष वा विपक्षमा, दल तथा उम्मेदवारलाई नकारात्मक असर पुग्ने किसिमबाट गलत र दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण नगर्न र नगराउन एवं गोप्य मतदानको अधिकार समेतमा प्रतिकूल प्रभाव पर्ने विषयमा संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल हार्दिक अनुरोध गर्दछ ।























