काठमाडौं- विगतमा राजधानी केन्द्रित भएर चुनावी घोषणापत्र सार्वजनिक गर्दै आएका राजनीतिक दलहरू यो पटक विकेन्द्रित हुने भएका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने कतिपय प्रमुख राजनीतिक दलले अझैसम्म आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र आ-आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न दिएको समयलाई ठुला भनिने राजनीतिक दलले नै बेवास्ता गरेका छन् ।
प्रमुख र ठुला भनिएका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाजस्ता राजनीतिक दल र तिनका उम्मेदवारहरूले अहिलेसम्म पनि घोषणापत्रविनै मतदाता भेटघाट र घरदैलो गरिरहेका छन् ।
कसले कहाँबाट सार्वजनिक गर्दैछ घोषणापत्र ?
-नेपाली कांग्रेस
नेपाली कांग्रेसले यही फागुन ६ गते मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन ६ गते जनकपुरमा हुने आमसभामा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।
कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ ।
कांग्रेसले ‘भिजन १०’ को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ । कांग्रेस सभापति गगन थापा यो चुनावमा मधेस प्रदेशको सर्लाही निर्वाचन क्षेत्रनम्बर ४ बाट उम्मेदवार बनेका छन् ।
त्यसैले पनि कांग्रेसले यो पटक मधेसलाई महत्त्व दिएको हुनसक्ने बताइएको छ ।
-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
त्यस्तै, अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते कर्णालीको सुर्खेतबाट आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको छ ।
‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले भोग्नु पर्यो । हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौँ’, रास्वपा नेतृ प्रतिभा रावलले भनिन्, ‘हामी फागुन ७ गते कर्णालीको सुर्खेतबाट विस्तृत घोषणापत्र सार्वजनिक गर्छौं ।’
नेतृ रावलका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहित पार्टीका शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।
कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्न लाग्नुमा पार्टीले उक्त प्रदेशलाई विशेष प्राथमिकता दिएको अर्थमा बुझ्नुपर्ने रावलको भनाइ छ ।
-नेकपा एमाले
तर नेकपा एमालेले भने अहिलेसम्म घोषणापत्र सार्वजनिक गर्ने मिति खुलाइसकेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली झापाको निर्वाचनमा व्यस्त भएकाले उनी काठमाडौं फर्केपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
‘तयारी भइरहेको छ । फागुन ६ गते अध्यक्ष काठमाडौँ फर्कने कार्यक्रम छ । सम्भवतः ७ गते हुनसक्छ । त्योभन्दा अघि उहाँ फर्कनुभयो भने अघि नै पनि हुन सक्छ’, अधिकारीले भने, ‘स्थानचाहिँ अहिलेसम्मका लागि काठमाडौँ नै हुने कुरा छ ।’























