काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गत भदौ २३–२४ गतेको घटनासम्बन्धी मतदाताले उठाएका आरोपहरूबारे आफू निर्दोष रहेको दाबी गरेका छन् ।
उनले घटनापछि सबैभन्दा पहिले छानबिन आयोगसमक्ष उपस्थित भई बयान दिएको उल्लेख गर्दै आयोगका अध्यक्ष स्वयंले आफ्नो गल्ती नरहेको अभिव्यक्ति सार्वजनिक रूपमा दिएको दाबी गरेका हुन् ।
लामिछानेका अनुसार बयान दिएपछि आयोगका अध्यक्षले अन्तर्वार्तामार्फत आफू दोषी नभएको बताएका थिए, जुन कुरा उनले जेलभित्रै बसेर हेरेको बताए ।
‘म ५–६ वटा फलामे ढोकाभित्र बसेको मान्छे, मेरो के पहुँच थियो र ?’ भन्दै उनले आफूविरुद्ध पूर्वाग्रह राखेर दोष थोपर्ने प्रयास भएको आरोप लगाए ।
उनले जेल प्रशासनका अधिकारीले समेत आफूले जेल जोगाएको भनेर बोलेको सुनेको उल्लेख गर्दै वास्तविकता छानबिन प्रतिवेदनले स्पष्ट पार्ने विश्वास व्यक्त गरे ।
साथै, घटनाका बेला आफूभन्दा एक किलोमिटर टाढा रहेका नेताहरू हेलिकप्टरमार्फत सुरक्षित स्थानमा लगिएको तर आफूलाई भने जेलभित्रैबाट बाहिरको भीडतर्फ धकेलिएको दाबी गरे ।
‘जेलभित्र बसेको मान्छेलाई जबरजस्ती ‘जा’ भनेर पत्र थमाइयो, बाहिर आगो बलिरहेको भीडमा पठाइयो,’ उनले भने, ‘जेलभित्र बसेको मान्छेको कैदी भगाउने क्षमता हुन्छ कि हुँदैन होला ? यो हजुरकै विवेकमा छोडिदिन्छु ।’
लामिछानेले कुनै आग्रह–पूर्वाग्रह नराखी निष्पक्ष छानबिनको अपेक्षा राखेको जनाउँदै अन्तिम सत्य प्रतिवेदन सार्वजनिक भएपछि बाहिर आउने विश्वास व्यक्त गरेका छन् ।























