काठमाडौं– निर्वाचन आचारसंहिता राजनीतिक दल वा उम्मेदवारका लागि मात्र नभई सर्वसाधारण मतदातामा पनि लागू हुने व्यवस्था भएको स्पष्ट गरिएको छ ।
निर्वाचन आयोग नेपालले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न मतदाताका लागि समेत आचरणका नियम तोकेको जनाएको छ ।
आचारसंहिताअनुसार मतदान केन्द्रमा मोबाइल फोन, क्यामरा वा प्रज्वलनशील पदार्थ लैजान पाइँदैन ।
मदिरा वा अन्य नसालु पदार्थ सेवन गरेर मतदान गर्न जान नहुने, झुटा अफवाह वा भ्रामक सूचना फैलाउन नपाइने र कुनै दल वा उम्मेदवारको झण्डा, लोगो, टिसर्ट, टोपी वा प्रचार सामग्री प्रयोग गर्न निषेध गरिएको छ ।
शरीरमा दल वा उम्मेदवारको चिन्ह झल्किने ट्याटू भए पनि मतदानका दिन प्रदर्शन गर्न नहुने व्यवस्था छ ।
आयोगका अनुसार आचारसंहिता उल्लङ्घनबारे उजुरी परे छानबिन गरी स्पष्टीकरण सोध्ने, सचेत गराउने वा कारबाही गर्ने निर्णय हुन सक्छ ।
मतदानको गोपनीयता भंग गरे १५ हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने प्रावधान छ ।
मतदानका दिन मतदाता परिचयपत्र साथमा बोक्नुपर्ने आयोगले जनाएको छ ।
साथै गर्भवती महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा लैंगिकक तथा यौनिक अल्पसंख्यक मतदातालाई प्राथमिकताका आधारमा मतदान सुविधा उपलब्ध गराइनेछ ।























