images
images
  • भारतद्वारा पशुपतिनाथ–वैद्यनाथधाम जोड्ने हाईस्पिड अन्तरदेशीय करिडोर निर्माण प्रस्ताव स्वीकृत

    काठमाडौं– भारत सरकारले नेपाल–भारत धार्मिक पर्यटनलाई लक्षित गर्दै नयाँ अन्तरदेशीय सडक करिडोर निर्माणको प्रस्ताव स्वीकृत गरेको छ ।

    यस करिडोरले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर र भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बैद्यनाथ धामलाई प्रत्यक्ष सडक सञ्जालमार्फत जोड्ने लक्ष्य राखेको छ ।

    भारतको केन्द्रीय सरकारले भागलपुर हुँदै जाने प्रस्तावित मार्गका लागि प्रारम्भिक प्रशासनिक तयारी अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ ।

    यो जानकारी बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत मंगलबार राज्य विधानसभामा दिएका हुन् ।

    उनका अनुसार आर्थिक वर्ष २०२६/२७ को बिहार बजेटमा यस परियोजनाका लागि ८२ अर्ब ६० करोड भारतीय रुपैयाँ विनियोजन गरिएको छ ।

    मन्त्री जैसवालले प्रस्तुत गरेको विवरणअनुसार “पशुपतिनाथ–वैद्यनाथ हाई–स्पिड करिडोर” काठमाडौंबाट सुरु भई भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ ।

    त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्लालाई जोड्दै झारखण्डको देवघरस्थित बैद्यनाथ धामसम्म पुग्ने योजना रहेको छ ।

    करिब २४० किलोमिटर लामो रहने अनुमान गरिएको यस करिडोर सुल्तानगञ्ज–अगुवानीघाट क्षेत्रमा गंगा नदीमाथि निर्माणाधीन पुलबाट गुज्रिने बताइएको छ ।

    यसअघि करिब सात महिनापूर्व बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले भारतका केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेट गरी परियोजनाको प्रस्ताव पेश गरेका थिए ।

    विशेषगरी श्रावणी मेला र काँवर यात्राका समयमा सुल्तानगञ्जबाट जल बोकेर पैदल बैद्यनाथधाम जाने लाखौँ श्रद्धालु तथा पशुपतिनाथ दर्शनका लागि नेपाल आउने भारतीय तीर्थयात्रीलाई लक्षित गर्दै यो पूर्वाधार विकास अघि बढाइएको हो ।

    करिडोर निर्माणपछि धार्मिक यात्रुका लागि सुरक्षित, द्रुत र सहज आवागमन सुनिश्चित हुने तथा दुबै देशबीच धार्मिक पर्यटनमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरिएको छ ।

    योजनाअनुसार मार्गसँगै पैदल यात्रुका लागि छुट्टै ‘सर्भिस रोड’ समेत निर्माण गरिनेछ, जसले नाङ्गो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई विशेष सुविधा दिने अपेक्षा गरिएको छ ।

    परियोजनाले नेपाल, बिहार र झारखण्डबीच धार्मिक पर्यटन मात्र होइन, व्यापारिक तथा आर्थिक सम्बन्धलाई समेत मजबुत बनाउने आकलन गरिएको छ ।

    भागलपुरका जिल्ला अधिकारी (डीएम) डा. नवल किशोर चौधरीका अनुसार प्रारम्भिक मार्गचित्र तयार भइसकेको छ र मन्त्रालयबाट विस्तृत परियोजना प्रतिवेदन प्राप्त हुनासाथ कार्यान्वयन चरणमा प्रवेश गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images