सुर्खेत– रुकुम पश्चिमको प्रतिनिधिसभा निर्वाचन यसपटक विशेष ध्यान र चर्चा बटुलिरहेको छ ।
२०६४ सालदेखि लगातार संसदीय निर्वाचनमा विजय हासिल गर्दै आएका जनार्दन शर्मा पुनः चुनावी मैदानमा उत्रिएका छन् ।
तर यसपटकको प्रतिस्पर्धा अघिल्ला चुनावभन्दा भिन्न देखिन्छ ।
लामो समय माओवादी पृष्ठभूमिबाट राजनीति गर्दै आएका शर्मा अहिले फरक राजनीतिक परिचयसहित उम्मेदवारी दिएका छन्, जसले रुकुम पश्चिमको चुनावी समीकरणमा नयाँ मोड ल्याएको छ ।
पूर्वमाओवादी मत विभाजन हुँदा कांग्रेसले अवसर खोज्ने योजना
निर्वाचनमा एमालेले शर्मा समर्थन गर्दै आफ्ना उम्मेदवार निष्क्रिय बनाएको छ ।
यस सहयोग र आफ्नो परम्परागत जनमतको आधारमा शर्मा विजयप्रति आश्वस्त देखिन्छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२,९६१ मत पाएका थिए र शर्मा निकटतम प्रतिद्वन्द्वी थिए ।
यसपटक देवकोटा आफ्नो चुनावी कमाण्डर बनेपछि शर्मा अझ उत्साही छन् ।
शर्माले २०६४ मा २२,५७५, २०७० मा ३०,२७०, २०७४ मा ३४,४०२ र २०७९ मा ३९,५४९ मत प्राप्त गर्दै निरन्तर मतान्तर बढाएका छन् ।
गृह, अर्थ, ऊर्जा तथा जलस्रोत, शान्ति तथा पुनर्निर्माणमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनी पूर्वमाओवादी पृष्ठभूमिबाट लगातार चुनाव जित्ने सीमित नेतामध्ये पर्छन् ।
माओवादी युद्धकालमा जनमुक्ति सेनाका डेपुटी कमाण्डरदेखि पार्टी उपमहासचिवसम्मको जिम्मेवारी बहन गरेका शर्माले अन्य जिल्लामा माओवादी जनमत कमजोर हुँदा पनि रुकुम पश्चिममा आफ्नो प्रभाव कायम राखेका थिए ।
माओवादी केन्द्रको एकताप्रति असहमति जनाउँदै शर्मा पार्टीबाट अलग भए र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरी संरक्षकको भूमिकामा बसे ।
यसपटक उनी ‘एकल आँखा’ चुनाव चिन्हसहित मैदानमा छन् ।
शर्मा आफू सधैं रुकुम पश्चिमको साझा उम्मेदवार भएको र राजनीतिक आस्थाका आधारमा विभेद नगर्ने दाबी गर्छन् ।
उनी भन्छन्, “चुनाव जितेपछि म सबैको प्रतिनिधि हुन्छु । विपक्षी दलका कार्यकर्ताले समेत ‘हामीलाई अभिभावक चाहियो’ भन्दै फोन गरेर ढाढस दिएका छन् ।”
कोरोना महामारीमा अस्पताल निर्माण, भूकम्पको उद्धार तथा पुनर्निर्माणमा सक्रिय भएको स्मरण गराउँदै उनले अझै धेरै काम बाँकी रहेकाले जनताले आफ्नो आवश्यकता महसुस गरेको बताए ।
उनका मुख्य प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा र कांग्रेसका राजु केसी रहेका छन् ।
गोपाल, जसलाई पार्टीमा अनलको नामले चिनिन्छ, पूर्वमाओवादी पृष्ठभूमिका नेता हुन् ।
माओवादी केन्द्रको जिल्ला संयोजकदेखि केन्द्रीय सदस्य र कर्णाली प्रदेशमा आर्थिक मामिलामन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका उनले अघिल्ला निर्वाचनमा जनार्दनका सहयोगी थिए ।
जनार्दन र गोपालबीचको प्रतिष्पर्धा यसपटक विशेष चासोको विषय बनेको छ ।
कांग्रेसले भने एमाले मैदानमा नहुँदा र माओवादी मत विभाजन हुने अवसरलाई आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ ।
कांग्रेस उम्मेदवार राजु केसी नेविसंघबाट उदाएका व्यवसायी हुन् ।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र आत्मनिर्भर रुकुम निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट इन्जिनियर मानबहादुर शाही पनि प्रतिस्पर्धामा छन्, जो वैकल्पिक राजनीति र सुशासनलाई मुद्दा बनाएका छन् ।
रुकुम पश्चिममा मतदाता संख्या १ लाख ६६० छ ।
मुसिकोटमा सबैभन्दा बढी २३,३०३ र कम बाफीकोट गाउँपालिकामा १४,०३० मतदाता छन् ।
त्यस्तै आठबिसकोटमा २१,११०, चौरजहारीमा १९,१३५, सानीभेरीमा १४,८७६ र त्रिवेणीमा १४,५०६ मतदाता रहेका छन्, जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।























