बागलुङ– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा म्याग्दीको राजनीतिक वातावरण तातिरहेको छ ।
जिल्लामा एउटै निर्वाचन क्षेत्र रहेको छ र यसमा १२ जना उम्मेदवार मैदानमा छन् ।
प्रमुख उम्मेदवारहरूमा नेपाली कांग्रेसका कर्ण बहादुर भण्डारी, नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अर्जुन बहादुर थापा र स्वतन्त्र उम्मेदवार पूर्वमन्त्री महावीर पुन रहेका छन् ।
पूर्वमन्त्री महावीर पुन गाउँ–बस्तीमा पुगेर मतदाता भेट्न थालेपछि चुनावी माहोल रोचक बन्दै गएको छ ।
यसअघि वाम गठबन्धन र पाँच दलीय गठबन्धनबाट प्रतिस्पर्धा गरे पनि यसपटक दलहरू अलग–अलग मैदानमा छन् ।
मतदाता पनि ‘भोट चेन्ज’तर्फ झुक्ने सम्भावना देखिन्छ, जसले महावीरलाई फाइदा पुर्याउने अनुमान छ ।
अघिल्ला निर्वाचनमा २०७० र २०७४ मा एमाले विजयी भए पनि २०७९ मा कांग्रेसले संसदीय चुनाव जितेको थियो ।
स्थानीय तहको निर्वाचनमा कांग्रेसले धवलागिरी र रघुगंगा गाउँपालिका जितेको थियो भने बेनी नगरपालिका, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिका एमालेले जितेका थिए ।
यसपटक म्याग्दीमा ८६,३९७ मतदाता छन्, जसमा ४४,०६४ महिला, ४२,३३२ पुरुष र एक अन्य मतदाता रहेका छन् ।
चुनावी माहोल अझै पूर्ण रूपमा खुलिसकेको छैन, तर महावीर पुनको उम्मेदवारीले राजनीतिक प्रतिस्पर्धा तीव्र बनाएको छ ।























