images
images
  • अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियान बनाउने श्रम संस्कृति पार्टीको घोषणा

    काठमाडौं– हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चुनावी घोषणापत्र तयार गर्दै अनिवार्य श्रम र श्रमदानलाई राष्ट्रिय अभियान बनाउने घोषणा गरेको छ ।

    पार्टीले प्रकृति, संस्कृति र प्रविधिको सन्तुलनमार्फत आत्मनिर्भर र समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसहित “हर्कवाद” नामक नयाँ राजनीतिक दर्शन अघि सारेको छ ।

    घोषणापत्रमा श्रमलाई सर्वोच्च मूल्य मानेर अल्छीपन, भ्रष्टाचार, गरिबी र परनिर्भरता अन्त्य गर्ने उपायका रूपमा अनिवार्य श्रमलाई जोड दिइएको छ ।

    शासकीय संरचनामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पाँच वर्षे कार्यकाल र दुई कार्यकालको सीमा प्रस्ताव गरिएको छ भने संघमा दुई सदन र प्रदेशमा एक सदनको व्यवस्था उल्लेख छ ।

    अर्थतन्त्रतर्फ कृषि पहिलो प्राथमिकतामा राख्दै उद्योग, ऊर्जा, जडीबुटी र प्रविधिमा आधारित आत्मनिर्भर मोडल अघि सारिएको छ ।

    शिक्षामा तीन दिन सैद्धान्तिक र चार दिन व्यवहारिक श्रम तथा कक्षा १२ पछि ६ महिने सैनिक तालिमको प्रस्ताव छ ।

    स्वास्थ्य सेवा निःशुल्क, बीमा विस्तार, वृद्ध–अपाङ्ग भत्ता वृद्धि, श्रमिक र किसानलाई विशेष सुविधा, डिजिटल आर्थिक प्रणाली, अवैध सम्पत्ति नियन्त्रण र सरकारी बैठक लाइभ प्रसारण जस्ता नीति पनि समेटिएका छन् ।

    घोषणापत्र औपचारिक सार्वजनिक हुन भने बाँकी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images