images
images
  • ओली पुग्न थाले मतदाताको घरदैलोमा, बालेनको ‘रोड सो’ कहाँ पुग्यो ?

    काठमाडौं– केपी शर्मा ओलीले यसपटक आफ्नो पुरानो चुनावी शैली परिवर्तन गरेका छन् ।

    नेकपा (एमाले)का अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओली अघिल्ला निर्वाचनहरूमा सीमित सभा र लक्षित भेटघाटबाट चुनाव जित्दै आएका थिए ।

    तर, यसपटक उनले प्रत्यक्ष घरदैलो र मतदातासँग आमनेसामने संवादलाई प्राथमिकता दिएका छन् ।

    नयाँ रणनीतिअनुसार ओली सकेसम्म आफैँ मतदाताका घर–घर र टोल–टोलमा पुगेर गुनासा सुन्ने योजनामा छन् ।

    उनी पुग्न नसक्ने स्थानमा भने नजिकका कार्यकर्तालाई खटाएर मतदाताका समस्या टिपोट गर्न लगाइएको छ ।

    झापा–५ मा मुख्य प्रतिस्पर्धा ओली र बालेन शाहबीच हुने आकलन गरिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहको बढ्दो लोकप्रियतासँगै ओलीलाई यस क्षेत्रको चुनाव चुनौतीपूर्ण हुने विश्लेषण भइरहेका बेला उनले रणनीति परिवर्तन गरी मतदातामाझ प्रत्यक्ष पुग्ने अभियान थालेका हुन् ।

    शाह दुई चरणमा झापा पुगेर मतदातासँग भेटघाट गरिसकेका छन् भने विभिन्न स्थानमा ‘रोड सो’ गर्दै आएका छन् ।

    त्यसको विपरीत ओलीले घरदैलो कार्यक्रमलाई नै मुख्य माध्यम बनाएका छन् ।

    माघ ६ मा उम्मेदवारी दर्ता गरेयता ओली अधिकांश समय झापामै सक्रिय छन् ।

    उम्मेदवारी दर्तापछि छोटो समयका लागि काठमाडौं फर्किए पनि माघ अन्तिम साता पुनः झापा पुगेर विभिन्न गाउँ र टोलमा मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए ।

    एक साता क्षेत्रमै बिताएपछि केही दिन काठमाडौं बसेर उनी फेरि झापा फर्किएका हुन् ।

    झापा पुगेलगत्तै उनले शिक्षक, धिमाल समुदाय तथा मुस्लिम समुदायसँग छुट्टाछुट्टै भेला गरेका थिए ।

    त्यसपछि दमक–२ स्थित अस्थायी निवासमा कार्यकर्ता र सर्वसाधारणसँग भेटघाट कार्यक्रम तय गरिएको एमाले झापा सचिव तुलसी कार्कीले जानकारी दिएका छन् ।

    एमाले केन्द्रीय सदस्य तथा झापा–५ का चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै रहने कार्यतालिका छ ।

    यस अवधिमा दैनिक कम्तीमा ६–७ स्थानमा घरदैलो कार्यक्रम गर्ने गरी रुट मिलाइएको छ ।

    ओलीको अनुपस्थितिमा पनि पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेश र जिल्ला कमिटीका सदस्य तथा जनवर्गीय संगठनका प्रतिनिधि परिचालन भई घरदैलो अभियानलाई तीव्र बनाइएको एमालेले जनाएको छ ।

    झापा–५ अन्तर्गत २९ वडाका सबै टोलका घर–घरमा पुगेर मतदातालाई निर्वाचनमा सहभागी हुन र ओलीलाई विजयी गराउन आग्रह गरिएको छ ।

    दमक नगरपालिका–५ प्रशान्ति टोलमा सक्रिय अखिल नेपाल महिला संघ झापाकी अध्यक्ष लिला ढुंगेल दाहालका अनुसार मतदातासँग प्रत्यक्ष संवाद गर्दा आएका सुझाव र गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ ।

    पार्टीका अनुसार एउटै योजना लिएर हजारौँ कार्यकर्ता एकैसाथ परिचालित भएका छन् ।

    उनीहरूले सामाजिक सञ्जालमा फैलिएका भ्रम चिर्ने र पार्टीविरुद्धका नकारात्मक प्रचारको प्रतिवाद गर्ने काम गरिरहेका छन् ।

    दमक नगर अध्यक्ष राम पौडेलका अनुसार सामाजिक सञ्जालमा प्रयोग भइरहेका निकृष्ट शब्द र भ्रामक सामग्रीले समाजमा नकारात्मक सोच बढाइरहेकाले त्यसविरुद्ध सचेत अभियान चलाइएको हो ।

    साथै, टोल–टोलमा सद्भाव, मित्रता र संयमित व्यवहार कायम राख्न सबैलाई आह्वान गरिएको घरदैलो कार्यक्रममा सहभागी कार्यकर्ताहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images