images
images
  • संघीय सरकारले बजेट कटौती गरेको भन्दै स्थानीय तहको विरोध

    काठमाडौं- संघीय सरकारले देशभरका स्थानीय सरकारहरुको वित्तीय समानीकरणको अनुदान कटौती गर्ने निर्णय गरेको भन्दै विरोध गरेका छन् ।

    गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल र नेपाल नगरपालिका संघले आइतबार संयुक्त विज्ञप्ति निकालेर करिब पाँच प्रतिशत रकम कटौतीको निर्णय भएको भन्दै विरोध गरेका हुन् ।

    उनीहरुका अनुसार, यो आर्थिक वर्षमा समानीकरण अनुदानमा स्थानीय सरकारमा निकासा हुनुपर्ने तेस्रो किस्ताको बजेट कटौती भएको हो । तेस्रो किस्तामा २५ प्रतिशत रकम निकासा हुनपर्नेमा २०.४३ प्रतिशत रकम निकासा हुने अवस्था आएको उनीहरुको दावी छ ।

    सरकारले गरेको प्रतिवद्धता एवं अर्थमन्त्रीले पटकपटक गरेको बाचा विपरित अनुदान कटौतीको निर्णयले आफूहरुलाई दुःखी बनाएको भन्दै देशभरको गाउँपालिका र नगरपालिकाका छाता संगठनहरुले संयुक्त रुपमा विरोध गरेका हुन् ।

    निर्वाचन सम्पन्न गर्ने सीमित कार्यादेश सहित गठन भएको सरकारले संसदबाट स्वीकृत बजेट कटौती गर्नु गलत हुने भन्दै उनीहरुले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भएको निर्णयलाई अव्यवहारिक र संघीयता प्रतिकूलको भनी टिप्पणी गरेका छन् ।

    भदौ २३ र २४ गतेको घटनाले कैयौ स्थानीय तहका भौतिक संरचनामा क्षति पुगेको भन्दै स्थानीय सरकारहरुले थप अनुदान उपलब्ध गराउन अनुरोध गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images