काठमाडौं– नियमित कार्यकाल सकिन करिब दुई वर्ष बाँकी रहँदै फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भएपछि मुलुकको राजनीतिक वातावरण पुनः तातिएको छ।
गत भदौ २३–२४ मा देखिएको ‘जेनजी आन्दोलन’पछिको बदलिँदो राजनीतिक सन्दर्भबीच हुन लागेको यो निर्वाचनलाई प्रमुख दल र शीर्ष नेताहरूको जनमत परीक्षणका रूपमा हेरिएको छ।
केही निर्वाचन क्षेत्रमा पुराना दलका स्थापित नेताहरू र नयाँ दलका उदाउँदा अनुहारबीच कडा प्रतिस्पर्धाको संकेत देखिन थालेको छ। झापा–५, सर्लाही–४, रौतहट–१, चितवन–२ र रुकुम पूर्वजस्ता क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलहरूबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ।
निर्वाचन आयोगमा दर्ता भएका दल र उम्मेदवारको संख्या बढेसँगै यसपटकको चुनाव अघिल्लाभन्दा फरक र बहुदलीय प्रतिस्पर्धाले भरिएको हुने देखिन्छ। धेरै दल र स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिँदा मत विभाजनको सम्भावना पनि बढेको विश्लेषण छ।
ठूला दलहरू संगठनात्मक शक्तिको भरमा घरदैलो अभियानमा केन्द्रित छन्। कांग्रेसले स्थिरता र लोकतान्त्रिक मूल्यलाई मुख्य मुद्दा बनाएको छ भने एमालेले राष्ट्रियता, विकास र नेतृत्व क्षमतालाई एजेन्डा बनाएको छ। नेकपाले सामाजिक न्याय र समावेशी विकासको नारा अघि सारेको छ। उता रास्वपा तथा अन्य नयाँ दलहरू पुराना दलप्रति देखिएको जनआक्रोशलाई मतमा रूपान्तरण गर्ने रणनीतिमा सक्रिय देखिन्छन्।
प्रारम्भिक प्रचारप्रसारका क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह तथा केही स्वतन्त्र उम्मेदवारप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको संकेत देखिएको छ, जसले परम्परागत दलहरूलाई दबाबमा पारेको टिप्पणी भइरहेको छ। कतिपय विश्लेषकले यस अवस्थालाई २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी उदयसँग दाँज्न थालेका छन्। यद्यपि त्यतिबेला ठूलो दल बने पनि माओवादीले स्पष्ट बहुमत हासिल गर्न सकेको थिएन। यसपटक पनि कुनै एक दलले एकल बहुमत ल्याउने सम्भावना न्यून र गठबन्धन सरकार बन्ने अनुमान बलियो देखिन्छ।
यस निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल, सह–संयोजक माधवकुमार नेपाल तथा रास्वपा सभापति रवि लामिछाने आ–आफ्नै चुनौतीसँग जुधिरहेका छन्। ओलीमाथि जेनजी आन्दोलन दमनको आरोप, थापामाथि आन्तरिक असहयोगको जोखिम, दाहालमाथि माओवादी एजेन्डा कमजोर बनाएको आलोचना, नेपालविरुद्ध भ्रष्टाचार मुद्दा र लामिछानेमाथि सहकारी ठगी प्रकरणले चुनावी प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ।
झापा–५: ओलीमाथि साहको दबाब
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि जित्दै आएको झापा–५ मा यसपटक रास्वपाका बालेन्द्र साह उम्मेदवार बनेपछि प्रतिस्पर्धा रोचक बनेको छ। काठमाडौं महानगरको मेयर पद त्यागेर साह झापा पुगेका हुन्। एमालेले ओलीलाई र रास्वपाले साहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन्। ओलीको संगठनात्मक बल र स्थानीय विकासको अनुभव एकातिर छ भने साहको युवा आकर्षण र ऊर्जाले अर्कोतिर चुनौती थपेको छ। विश्लेषकहरूका अनुसार यहाँ थोरै मतान्तरमै हार–जित हुन सक्छ।
सर्लाही–४: थापा, सिंह
कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौं–४ छाडेर सर्लाही–४ रोजेका छन्। उनलाई रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहले कडा चुनौती दिएका छन्। सिंहको स्थानीय प्रभाव र विगतको जितले प्रतिस्पर्धालाई अझ बलियो बनाएको छ। कांग्रेसको परम्परागत प्रभाव क्षेत्र भए पनि यहाँ नतिजा अनुमान गर्न कठिन देखिन्छ।
रुकुम पूर्व: दाहालको सुरक्षित खोजी
नेकपा संयोजक पुष्पकमल दाहाल यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्। माओवादी जनयुद्धको आधारभूमि मानिने यस क्षेत्रमा ‘सहिदपुत्र’ सन्दीप पुन उम्मेदवार बनेपछि प्रतिस्पर्धा पेचिलो भएको छ। एमालेको समर्थनसमेत पुनलाई मिलेपछि दाहाललाई सहज जितको बाटो खुला छैन।
रौतहट–१: नेपालको परीक्षा
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट–१ बाट पुनः चुनावी मैदानमा छन्। एमालेका अजयकुमार गुप्ता र कांग्रेसका अनिल झा उनका मुख्य प्रतिस्पर्धी हुन्। अघिल्लो निर्वाचनमा गठबन्धनको साथ पाएका नेपाल यसपटक एक्लै बलियो मत ल्याउनुपर्ने दबाबमा छन्।
चितवन–२: लामिछाने प्रश्नको घेरामा
रास्वपा सभापति रवि लामिछाने पुनः चितवन–२ बाट उम्मेदवार बनेका छन्। दुईपटक जितिसकेको क्षेत्र भए पनि सहकारी ठगीसम्बन्धी मुद्दाले उनलाई घेराबन्दीमा पारेको छ। कांग्रेस, एमाले र नेकपाले नयाँ अनुहार अघि सारेकाले यहाँ पनि प्रतिस्पर्धा चर्किने देखिन्छ। अघिल्ला मतान्तर हेर्दा लामिछाने बलियो देखिए पनि कानुनी र नैतिक प्रश्नहरूले उनको अभियानलाई चुनौती दिइरहेका छन्।
समग्रमा, यसपटकको निर्वाचन पुराना शक्ति र नयाँ आकांक्षाबीचको प्रत्यक्ष टक्करका रूपमा चित्रित हुन थालेको छ। जनमत कुन दिशातर्फ ढल्किन्छ भन्ने उत्सुकताले राजनीतिक वृत्त मात्र होइन, आम मतदाता पनि प्रतीक्षारत देखिन्छन्।























