सुर्खेत– प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा दलहरूले आफ्नो चुनावी प्रचार तीव्र बनाएका छन् ।
यही फागुन २१ गते हुने निर्वाचनमा उम्मेदवारहरू पुराना उपलब्धिहरू बचाउन र नयाँ पहिचान बनाउन लागि परेको देखिन्छ ।
कर्णालीका केही क्षेत्रमा पूर्वमाओवादीधारका सहकर्मीहरू अहिले फरक–फरक पार्टीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
रुकुम पश्चिममा पूर्वसहकर्मी जनार्दन शर्मा र गोपाल शर्मा आपसमा प्रतिस्पर्धामा छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्वमाओवादीधारकै मानबहादुर शाही पनि उम्मेदवार बनेका छन् ।
जनार्दन शर्मा ०४८ सालदेखि रुकुमबाट पाँचपटक निर्वाचनमा भाग लिएका छन् ।
माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि उनले चारपटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छन् ।
उनका पूर्व चुनावी कमाण्डर गोपाल शर्मा यसपालि उनका प्रतिद्वन्द्वी बनेका छन् ।
जनार्दनले तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेपछि केही नेताहरू उनको साथ छाडेका थिए ।
गोपाल शर्मा, वसन्त शर्मा, गोविन्द रोका, विमला केसी, विशाल शर्मा जस्ता नेताहरूले अलग पार्टी रोजेका थिए ।
यसपालि गोपाल शर्मा नेकपा (एमाले) बाट चुनाव लड्दै छन् ।
रास्वपा उम्मेदवार मानबहादुर शाही तत्कालीन माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माको सचिवालयमा काम गरिसकेका व्यक्ति हुन् ।
उनले असन्तुष्ट भएर रास्वपामा प्रवेश गरेका थिए ।
कालीकोट र जुम्लामा पनि पूर्वमाओवादीधारका सहकर्मीहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।
कालीकोटमा महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा चुनावी मैदानमा छन् ।
शाही संघीय सरकारका ऊर्जामन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्री भइसकेका व्यक्ति हुन् भने विश्वकर्मा महिला तथा बालबालिका मन्त्री र नागरिक उड्डयन तथा पर्यटनमन्त्री भइसकेका छन् ।
विश्वकर्मा पहिलोपटक ०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित भए र पछि प्रचण्ड नेतृत्वको माओवादी पार्टी छाडे ।
यसपालि उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट चुनाव लड्दै छन्। शाही चौथोपटक चुनावी प्रतिस्पर्धामा छन् र कालीकोटबाट लगातार जित्ने एक्लो नेता हुन् ।
जुम्लामा पनि पूर्वमाओवादीधारका दुई नेता पहिलो संविधानसभा विजयी नरेश भण्डारी र युद्ध पत्रकारिताबाट उदाएका प्रलोपाका नेता मनऋषि धिताल उम्मेदवार बनेका छन् ।
मनऋषि पहिले प्रचण्डनिकट थिए र पार्टी एकताको क्रममा जनार्दन शर्मासँग अलग भए ।
यी सबै क्षेत्रमा पूर्वमाओवादीधारका नेताहरूका साथै अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन्, जसले निर्वाचनलाई अझ रोचक बनाएको छ ।























