काठमाडौं– जेनजी विद्रोहपछि २०७९ मा निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले कार्यकाल पूरा गर्न पाएनन् ।
केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी नयाँ चुनाव घोषणा गरे ।
यसबीच रास्वपा र राप्रपाका केही सांसदहरूले त संसद विघटनअघि नै राजीनामा दिएका थिए ।
तीन वर्षको अवधिमा संसदको धेरै समय सत्ता बनाउने–ढलाउने खेलमै बित्यो ।
बाँकी समय भ्रष्टाचार र ठगीसम्बन्धी विवादले बैठक अवरुद्ध भयो ।
यद्यपि रास्वपाको उदयले संसदलाई केही फरक र रोचक बनायो ।
सामाजिक सञ्जालमा सांसदका अभिव्यक्ति र गतिविधि व्यापक चर्चामा रहे ।
चर्चित १० सांसद
अमरेशकुमार सिंह– सर्लाही–४ बाट स्वतन्त्र निर्वाचित, कडा अभिव्यक्ति र विवादास्पद शैलीका कारण चर्चित छन् । यसपटक रास्वपाबाट उम्मेदवार भए पनि जित्न कठिन जस्तै देखिन्छ ।
ज्ञानबहादुर शाही– राप्रपाका तेज वक्ता, राजसंस्थाको खुलेर वकालत गर्ने गर्छन् । जुम्लामा पुनः प्रतिस्पर्धामा तर जित सहज छैन ।
रामहरि खतिवडा– कांग्रेसका सक्रिय वक्ता तर निजामती विधेयक विवादपछि टिकट पाएनन् ।
लेखनाथ दाहाल– नेकपाका खरो वक्ता, सिन्धुली–२ मा आन्तरिक विद्रोहका कारण चुनौतीपूर्ण अवस्थामा छन् ।
चन्द्र भण्डारी– फरक अभिव्यक्तिका कारण चर्चित कांग्रेस नेता, गुल्मीमा कडा प्रतिस्पर्धामा छन् ।
सूर्य थापा– एमालेका तीखा वक्ता, प्युठानमा पुनः चुनाव लड्दै तर जित अनिश्चित जस्तै देखिएको छ ।
सुमना श्रेष्ठ– रास्वपाकी समानुपातिक सांसद, वैकल्पिक राजनीतिक प्रयासपछि चुनाव नलड्ने निर्णय गरेसँगै अहिले मौन छिन् भने पार्टी पनि परित्याग गरेकी छन् ।
रघुजी पन्त– एमालेका सक्रिय रक्षात्मक वक्ता तर यसपटक टिकट नपाएका उनले यसपटक पनि पाएनन् ।
योगेश भट्टराई– एमाले उपमहासचिव, पार्टी आन्तरिक राजनीतिका कारण चुनावबाट बाहिरै छन् ।
गोकुल बाँस्कोटा– एमाले नेता, टिकट नपाएपछि आगामी संसद्मा देखिने छैनन्, उनी पनि प्रखर वक्ताका रूपमा चिनिन्छन् ।
यो संसद् सामाजिक सञ्जाल र कडा अभिव्यक्तिका कारण चर्चित रह्यो, तर राजनीतिक अस्थिरता र विवादले कार्यकाल अधुरै समाप्त भयो ।























