काठमाडौं– नेपाली राजनीतिमा नयाँ चुनावी बहसको केन्द्र अहिले दुई अनुहारमा खुम्चिएको छ, गगन थापा र बालेन्द्र शाह ।
नेपाली कांग्रेस भित्र गगनको उदय र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेनको सक्रिय प्रवेशले चुनावी माहोल असाधारण रूपमा तातेको छ ।
भदौ २३–२४ को जेन्जी आन्दोलनपछि बदलिएको राजनीतिक दिशाले आगामी निर्वाचनलाई अझ अनिश्चित र प्रतिस्पर्धी बनाएको छ ।
यसबीच, सत्ताबाट बाहिरिएर आलोचनाको घेरामा परेका केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एमाले)का लागि यो चुनाव विरासत जोगाउने चुनौती बनेको छ ।
एमाले, कांग्रेस र रास्वपाबाट क्रमशः केपी, गगन र बालेन प्रधानमन्त्रीका सम्भावित अनुहारका रूपमा प्रस्तुत हुँदा प्रतिस्पर्धा व्यक्तिकेन्द्रित बन्दै गएको छ ।
उता पूर्व माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चर्चा तुलनात्मक रूपमा कम देखिन्छ ।
२०७९ को निर्वाचनमा पार्टी विभाजन र संसद् विघटनको आरोप बोकेर पनि एमाले समानुपातिकतर्फ पहिलो बनेको थियो ।
त्यतिबेला १६५ क्षेत्रको समानुपातिक मतमा एमाले ७२, कांग्रेस ४७, नेकपा ११, रास्वपा १४, जसपा ९, जनमत ६, नाउपा ४ तथा नेमकिपा र राप्रपाले एक–एक क्षेत्रमा अग्रता लिएका थिए ।
अहिले भने गगन र बालेनको लोकप्रियताले ती पुराना अंकगणित हल्लिने आकलन बढ्दो छ ।
प्रदेशगत रूपमा हेर्दा अघिल्लो निर्वाचनमा कोशीमा एमालेको बलियो पकड थियो भने मधेसमा कांग्रेस, जसपा र जनमतको प्रभाव देखिएको थियो ।
बागमतीमा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा उभिएको थियो भने गण्डकी र लुम्बनीमा एमाले अग्रस्थानमा रहँदा कांग्रेस पछ्याइरहेको देखिन्थ्यो ।
कर्णालीमा एमाले–कांग्रेस–नेकपा त्रिकोणीय प्रतिस्पर्धा थियो भने सुदूरपश्चिममा कांग्रेस अगाडि देखिएको थियो ।
नयाँ राजनीतिक परिवेश, युवामुखी नाराहरू र व्यक्तित्व–केन्द्रित प्रचारले यसपालिको चुनाव पुरानो दलगत गणितभन्दा फरक मोडमा पुग्ने संकेत देखिएको छ ।
अबको प्रतिस्पर्धा केवल दलबीच होइन, नेतृत्वको विश्वसनीयता र जनअपेक्षाको परीक्षा पनि बन्नेछ ।























