images
images
  • तत्कालीन १० वर्षे सशस्त्र संघर्षका सारथीबीच कडा प्रतिस्पर्धा, जित्नेमा कोही छैनन् ढुक्क

    सुर्खेत– यहीँ फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशव्यापी शक्ति परीक्षणका रूपमा हेरिएको छ ।

    अघिल्ला चुनावहरूमा प्रायः गठबन्धनमा प्रतिस्पर्धा गरेका दलहरू यस पटक एक्लाएक्लै मैदानमा उत्रिएका कारण वास्तविक मताधार कति छ भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।

    तीन वर्षअघि कर्णाली प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको गठबन्धनबाट सफलता पाएका दलहरूलाई यस पटक आफ्नो विरासत जोगाउने चुनौती छ भने एमाले गुमेको साख फर्काउने तयारीमा देखिएको छ ।

    २०७४ सालको निर्वाचनमा एमाले–माओवादी गठबन्धनको प्रभावका कारण कर्णालीबाट कांग्रेस प्रतिनिधिसभामा शून्य बनेको थियो ।

    उक्त निर्वाचनमा एमालेले ६ र माओवादीले ५ सिट जितेका थिए ।

    हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा विजयी भई पछि माओवादी केन्द्रमै फर्किएका थिए ।

    २०७९ सालमा भने समीकरण उल्टियो ।

    कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी हुँदा एमाले कर्णालीमा नतिजाविहीन बन्यो ।

    कांग्रेस र माओवादी केन्द्रले ४–४ सिट जिते, एकीकृत समाजवादीले ३ सिट हात पार्यो भने जुम्लाबाट राप्रपाले जित निकाल्यो ।

    अब २१ फागुनको चुनावमा कांग्रेसले अघिल्लो पटक जितेका चार सिट जोगाउनुका साथै नयाँ क्षेत्रमा विस्तार गर्ने रणनीति बनाइरहेको छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीको एकताबाट बनेको नेकपालाई पनि विगतका सिट जोगाउने दबाब छ ।

    यस पटक कर्णालीमा राप्रपा, रास्वपा र श्रम संस्कृतिजस्ता नयाँ दलहरूको सक्रियता थपिँदा प्रतिस्पर्धा अझै रोचक बनेको छ ।

    कांग्रेसले जितेको सुर्खेत–१ र २ मा कांग्रेस छाडेर रास्वपामा प्रवेश गरेका उम्मेदवार मैदानमा उत्रिएकाले ती क्षेत्र जोगाउन कांग्रेसलाई विशेष मेहनत गर्नुपर्ने देखिन्छ ।

    माओवादी केन्द्रले जितेको कालीकोटमा माओवादी पृष्ठभूमिका खड्कबहादुर विश्वकर्मा तथा रुकुम पश्चिममा तत्कालीन उपमहासचिव जनार्दन शर्माविरुद्ध नेकपाका उम्मेदवारहरू चुनौतीका रूपमा उभिएका छन् ।

    यसअघि गठबन्धनलाई पराजित गर्दै विजयी भएका राप्रपाका ज्ञानेन्द्र शाहीलाई भने यस पटक रास्वपाकी विनिता कठायत र प्रलोपका मनऋषि धितालसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।

    २०७९ को समानुपातिक मतपरिणाम हेर्दा कर्णालीमा एमाले पहिलो शक्ति थियो ।

    एमालेले १ लाख ८३ हजार १३३ मत पाउँदा कांग्रेसले १ लाख ८० हजार ९०९ मत प्राप्त गरेको थियो ।

    माओवादी केन्द्रले १ लाख ३५ हजार ४९६ मत पाएको थियो भने एकीकृत समाजवादीको मत २५ हजार ५५५ थियो ।

    ती मत जोड्दा पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त मत एमालेभन्दा कम देखिन्छ ।

    यस पटक कालीकोट र रुकुम पश्चिममा माओवादी तथा एकीकृत समाजवादीको मत प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा माओवादीजस्ता दलहरूले काट्न सक्ने आँकलन गरिएको छ ।

    उता कांग्रेस र एमालेको मत केही हदसम्म रास्वपातर्फ सर्न सक्ने सम्भावनाले समग्र परिणामको पूर्वानुमान गर्न विश्लेषकहरूलाई कठिन भएको छ ।

    गठबन्धनविहीन प्रतिस्पर्धामा कांग्रेस र नेकपालाई आफ्नो अघिल्लो जित जोगाउने चुनौती छ भने एमाले गुमेको आधार पुनः स्थापित गर्ने दबाबमा देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images