काठमाडौं– फागुन महिनाका लागि सार्वजनिक गरिएको नयाँ ब्याजदर तालिकाअनुसार आठ वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
२० बैंकमध्ये आठ बैंकले दर समायोजन गर्दा चार बैंकले व्यक्तिगत निक्षेप मात्र घटाएका छन् भने बाँकीले व्यक्तिगत र संस्थागत दुवै दर घटाएका हुन् ।
ग्लोबल आईएमई बैंकले व्यक्तिगततर्फ ०.७५ र संस्थागततर्फ ०.२५ प्रतिशत विन्दुले दर घटाएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले दुवैतर्फ ०.५० प्रतिशत विन्दुले घटाउँदै अधिकतम व्यक्तिगत ४.५ र संस्थागत ३.५ प्रतिशत कायम गरेको छ ।
नेपाल एसबीआई र सिद्धार्थ बैंकले पनि व्यक्तिगत तथा संस्थागत ब्याजदर घटाएका छन् ।
प्राइम, एभरेस्ट, कृषि विकास र स्ट्यान्डर्ड चार्टर्ड बैंकले समेत सानो प्रतिशतले दर घटाएका छन् ।
हाल व्यक्तिगत मुद्दती खातामा अधिकतम ब्याजदर ५.१ प्रतिशतसम्म रहेको छ भने संस्थागततर्फ ४ प्रतिशतसम्म पाइन्छ ।
बजारमा तरलता पर्याप्त हुनु र कर्जा माग नबढ्नुका कारण बैंकहरूमा ब्याजदर घट्ने क्रम जारी रहेको बताइएको छ ।
राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन निक्षेप संकलन उपकरण जारी गरिरहेकाले संस्थागत ब्याजदर न्यून विन्दु नजिक पुगेको छ ।


विश्व खबर 



















