images
images
  • मुटुरोग र उच्च रक्तचाप नभए पनि हुन सक्छ हर्ट अट्याक, के-के हुन जोखिम कारक र बच्ने उपाय ?

    काठमाडौं- जो मानिस फिट छन्, नियमित रूपमा व्यायाम गर्छन्, सही खानपान अपनाउँछन् र उच्च रक्तचाप वा मधुमेह छैन, उनीहरूलाई हृदयाघातको जोखिम हुँदैन भन्ने आम धारणा छ । तर यो कुरा पूर्ण सत्य होइन । पूर्ण रूपमा स्वस्थ देखिने मानिसहरूलाई पनि हृदयाघात हुन सक्छ । हामीले यस्ता धेरै घटनाहरू देखेका छौँ । तर यस्तो किन हुन्छ ? आज हामी यसबारे चर्चा गर्छौँ ।

    मुटुको स्वास्थ्य जीवनशैलीमा मात्र निर्भर हुँदैन । हाम्रो आँखाले प्रत्यक्ष देख्न नसक्ने कैयौँ जोखिम कारकहरू पनि हुन्छन् । सबैभन्दा महत्त्वपूर्ण आनुवंशिकी वा पारिवारिक इतिहास हो । कोही व्यक्तिको आमाबाबु वा नजिकका आफन्तहरू सानै उमेरमा हृदयरोगबाट पीडित थिए भने ऊ फिट भए पनि हर्ट अट्याकको जोखिम हुन्छ ।

    उमेर पनि एउटा प्रमुख कारक हो । ४० वर्षको उमेरपछि हृदयाघातको जोखिम बिस्तारै बढ्छ । पुरुषहरूमा यो जोखिम पहिले देखापर्छ । महिलामा भने मेनोपज (महिनावारी रोकिएको अवस्था) पछि यस्तो हुन सक्छ ।

    सोरायसिस वा रुमेटोइड अर्थराइटिस जस्ता केही इन्फ्लेमेटरी (सुन्निने) रोगहरूले पनि मुटुको धमनीलाई क्षति पुर्‍याउन सक्छ । व्यक्ति फिट नै भए पनि यस्ता समस्याले गर्दा रगत जम्ने र हृदयाघातको जोखिम बढ्ने हुन सक्छ ।

    के के हुन्छन् जोखिम कारकहरू ?

    तपाईं नियमित व्यायाम गर्नुहुन्छ भने पनि तपाईँलाई उच्च कोलेस्ट्रोल वा उच्च रक्तचाप हुन सक्छ । यो कहिलेकाहीँ लक्षणविहीन रहन सक्छ । त्यसैले २० वर्षको उमेरपछि प्रत्येक ४–६ वर्षमा कोलेस्ट्रोल प्रोफाइल जाँच गर्नु महत्त्वपूर्ण छ ।

    तनाव पनि एक प्रमुख कारण हो । तर धेरैले यसलाई बेवास्ता गर्छन् । लामो समयसम्मको तनावले रक्तचाप र कोलेस्ट्रोल दुवै बढाउन सक्छ, जसले गर्दा हृदयाघातको जोखिम बढ्छ ।

    कस्ता हुन्छन् चेतावनीका सङ्केत ?

    कुनै फिट वा युवा व्यक्तिलाई हृदयाघात हुन्छ, मानिसहरू अचानक किन भयो भनेर सोच्न थाल्छन् । तर सत्य कुरा, हृदयाघात हुनुअघि शरीरले केही सङ्केत दिइसकेको हुन्छ ।

    जस्तै:

    –छातीमा दबाब वा हलुका पीडा महसुस हुनु

    – बङ्गारा, घाँटी, काँध वा पिठ्यूँमा पीडा

    – अचानक सास फेर्न गाह्रो हुनु

    – व्यायाम गर्दा चक्कर लाग्नु वा बेहोस हुनु

    – महिलाहरूमा अत्यधिक थकान, छातीमा हल्का असुविधा वा सास फेर्न गाह्रो हुनु

    यस्ता छन् बच्ने उपाय  

    – नियमित रूपमा रक्तचाप, सुगर र कोलेस्ट्रोल जँचाउनुहोस् ।

    – आफ्नो परिवारको रोगसम्बन्धी इतिहास थाहा पाउनुहोस् र डाक्टरसँग यसबारे खुलेर कुरा गर्नुहोस् ।

    – तनाव व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुहोस् । योग, ध्यान, वा माइन्डफुलनेस यसका लागि उपयोगी हुन सक्छ ।

    – धूम्रपान/भ्यापिङको सेवन छाड्नुहोस्

    – स्वस्थ आहार अपनाउनुहोस् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images