काठमाडौं- रामेछापमा मंगलबार भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएपछि मृतकका आफन्तहरूले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
दिउँसो मन्थलीस्थित जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका आफन्तहरूले उचित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरेका थिए ।
प्रशासन घेराउका क्रममा सामान्य झडपसमेत भएको जनाइएको छ । यद्यपि बेलुकासम्म स्थिति नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।
मंगलबार रामेछापमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश लिखु तामाकोशी गाउँपालिका-बिजुलीकोटका स्थानीय रहेको जनाइएको छ ।
दुर्घटनामा संलग्न गाडी अरनिको यातायात सेवा समितिको मातहतमा रहेको बताइएको छ । मृतकका आफन्तहरूले समितिका जिम्मेवार व्यक्तिलाई उपस्थित गराएर उचित क्षतिपूर्ति सुनिश्चित गर्न माग गरेका थिए । तर समितिले बस काउन्टरका प्रतिनिधि मात्र पठाएर मागप्रति बेवास्ता गरेको आरोप आफन्तहरूको छ ।
उचित क्षतिपूर्ति नपाएको भन्दै आफन्तहरूले शव बुझ्नसमेत अस्वीकार गरेका थिए । साथै घाइतेहरूको उपचार प्रभावकारी ढंगले गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन् । प्रशासनले पीडित पक्षसँग वार्ता जारी रहेको जनाएको छ ।
मृतकका आफन्तले बुधबार बिहानबाट मन्थली–खुर्कोट सडकसमेत अवरोध गरेका थिए ।























