images
images
  • बजारमा ग्यास अभावको गुनासो : आयल निगमले टेकु परिसरबाट थाल्यो बिक्री, कुन–कुन ग्यास पाइन्छ ?

    काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै बिक्री वितरणको व्यवस्था मिलाएको छ।

    डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण सुरु गरेको हो ।

    निगमका अनुसार विशेषगरी बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेस्ट ग्यास र सुगम ग्यासका उपभोक्ताहरूले टेकुबाट ग्यास लिन सक्नेछन् ।

    निगमका अनुसार नेपाल ग्यासको वितरण सुरु भइसकेको छ भने एभरेस्ट र सुगम ग्यासको काउन्टर पनि तत्काल सञ्चालनमा आउँदैछ । जसलाई ग्यास अत्यावश्यक छ र आफ्नो डिलरबाट पाएका छैनन् । उनीहरुले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आई सहज रूपमा ग्यास लिन सक्नेछन् ।

    बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहँदा आयात र आपूर्तिमा कुनै समस्या नरहेको निगमले जनाएको छ । भन्सारको तथ्याङ्क अनुसार माग बमोजिम नै ग्यास आयात भइरहेको छ ।

    एउटा मात्र सिलिन्डर हुने सर्वसाधारण बढी मर्कामा परेको र ग्यास नपाएर रुनुपर्ने अवस्था आएको गुनासोलाई सम्बोधन गर्न निगमले यो आकस्मिक बिक्री कक्ष (काउन्टर) को व्यवस्था गरेको हो।

    ग्यास नपाएका सर्वसाधारणले खाली सिलिन्डरसहित नेपाल आयल निगमको टेकुस्थित कार्यालय परिसरमा सम्पर्क गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images