images
images
  • अमेरिकी युद्धपोत र लडाकू विमान इरान नजिक, वार्ता विथोलिए युद्ध हुने पक्का

    काठमाडौं– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार मनाएको छ, तर देश भित्री असन्तोष र बाह्य दबाबका कारण संवेदनशील अवस्थामा रहेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा अर्को विमानवाहक समूह पठाउने संकेत गरेका छन् भने इरानभित्र हालै भएका विरोध प्रदर्शनमाथि गरिएको कठोर दमनको अन्तर्राष्ट्रिय आलोचना जारी छ ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको वासिङ्टन भ्रमणको सन्दर्भमा ट्रम्पले तेहरानसँग सम्भावित नयाँ आणविक सम्झौतामा कडा सर्त राख्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

    यसैक्रममा, पछिल्लो चरणको वार्तामा मध्यस्थता गरेको ओमान भ्रमणपछि एक वरिष्ठ इरानी सुरक्षा अधिकारी कतार पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।

    राज्य सञ्चारमाध्यमहरूले तेहरानसहित देशभर हजारौँ समर्थकहरू सडकमा उत्रिएको दृश्य प्रसारण गरेका छन्, जहाँ इस्लामिक गणतन्त्र र ८६ वर्षीय सर्वोच्च नेता अयातुल्ला अली खामेनीप्रति समर्थन जनाइएको छ ।

    यद्यपि राजधानी तेहरानमा केही स्थानबाट ‘तानाशाह मूर्दावाद’ जस्ता नारासमेत सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

    सडक प्रदर्शनमा सहभागीहरूले इरानी र प्यालेस्टिनी झण्डासहित खामेनी तथा इस्लामिक गणतन्त्रका संस्थापक आयातोल्लाह रुहोल्लाह खोमेनीका तस्बिर बोकेका थिए ।

    कतिपयले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।

    सुधारवादी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानको आजादी स्क्वायरमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

    उनले यसअघि विदेशमन्त्रीलाई अमेरिकी पक्षसँग वार्ता अघि बढाउन निर्देशन दिएका थिए ।

    आठ करोड ५० लाख जनसंख्या भएको इरानमा शासनप्रति बलियो समर्थन गर्ने समूह अझै सक्रिय रहेको छ, जसमा अर्धसैनिक क्रान्तिकारी गार्डका सदस्यहरू पनि पर्छन् ।

    हालैको दमनमा हजारौँ पक्राउ परेका र कैयौँ मारिएका विवरण सार्वजनिक भएका छन् ।

    केही नागरिकहरू सरकारी कर्मचारी भएकाले वा सरकारी प्रायोजनमा आयोजित कार्यक्रमको वातावरणका कारण पनि समारोहमा सहभागी हुने गरेका छन् ।

    स्मरणोत्सवपछि वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी ओमानबाट कतारतर्फ प्रस्थान गरेका छन् ।

    कतारले अमेरिकी सैन्य आधार होस्ट गर्दछ, जसलाई इरानले गत जुनको १२ दिने इरान–इजरायल युद्धको क्रममा आक्रमण गरेको थियो ।

    कतार विगतमा इरानसँग वार्तामा महत्त्वपूर्ण मध्यस्थकर्ता रहँदै आएको छ ।

    रूसी सञ्चारमाध्यमसँग कुरा गर्दै विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाप्रति पूर्ण विश्वास नरहेको बताएका छन् ।

    गत जुनमा वार्ताकै बीचमा आक्रमण भएको अनुभव अत्यन्तै नकारात्मक रहेको उनको भनाइ थियो ।

    भविष्यमा त्यस्तो अवस्था दोहोरिन नदिन ग्यारेन्टी आवश्यक रहेको र त्यसमा धेरै हदसम्म अमेरिका जिम्मेवार हुने उनले उल्लख गरे ।

    यद्यपि उनले सन् २०१५ को आणविक सम्झौताभन्दा अझ राम्रो सहमति सम्भव हुन सक्ने संकेत गरेका छन् ।

    संयुक्त राज्य अमेरिकाले युएसएस अब्राहम लिंकनसहितका युद्धपोत र लडाकू विमानहरू यसअघि नै मध्यपूर्वमा तैनाथ गरिसकेको छ ।

    ट्रम्पले आवश्यक परे दोस्रो विमानवाहक पनि पठाउन सकिने बताएका छन् ।

    कुन जहाज पठाइने हो भन्ने स्पष्ट नभए पनि युएसएस जर्ज एच. डब्ल्यु. बुश र युएसएस जेराल्ड आर. फोर्ड क्षेत्रीय गतिविधिसँग जोडिएका नामका रूपमा उल्लेख भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images