काठमाडौं– ललितपुर कम्युनिष्ट आन्दोलनका लागि ऐतिहासिक रूपमा महत्त्वपूर्ण जिल्ला हो ।
किनकि नेकपाका संस्थापक तुलशीलाल अमात्य यहीँका थिए ।
२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट जित हासिल गर्दै उनी उपत्यकाका एक्ला वामपन्थी सांसद बनेका थिए ।
किसान आन्दोलन संगठित गर्नेदेखि नेकपा विभाजनपछि अलग धार विकास गर्ने प्रयाससम्म अमात्यको ठूलो भूमिका रह्यो ।
यही पृष्ठभूमिका कारण ललितपुर, विशेषगरी क्षेत्र नम्बर २, लामो समय वामपन्थी प्रभावमा रहँदै आएको छ ।
निर्वाचन इतिहास हेर्दा ललितपुर–२ मा प्रायः एमालेको प्रभाव कायम रह्यो, यद्यपि २०६४ मा माओवादी र २०७० मा कांग्रेसले जित निकालेका थिए ।
त्यसपछि भने कांग्रेसले नतिजा दोहोर्याउन सकेको छैन ।
वर्तमान प्रतिस्पर्धामा एमालेबाट प्रेम महर्जन, कांग्रेसबाट प्रेमकृष्ण महर्जन, रास्वपाबाट जगदीश खरेल लगायत उम्मेदवार मैदानमा छन् ।
नयाँ दल र उम्मेदवारतर्फ मत सर्ने प्रवृत्तिले रास्वपामा उत्साह देखिए पनि पुराना दलको बलियो संगठनका कारण प्रतिस्पर्धा कडा हुने आकलन छ ।
ललितपुर–२ ठूलो मतदाता क्षेत्र हो जहाँ एमाले, कांग्रेस, रास्वपा, माओवादी, राप्रपा लगायत दलको उल्लेख्य उपस्थिति छ ।
अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ रास्वपा पहिलो बनेको थियो भने प्रदेशतर्फ एमाले अगाडि थियो ।
यस पटक पनि पुराना दलको संगठन र नयाँ दलको आकर्षणबीच कडा भिडन्त हुने देखिन्छ ।























