काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धनगढीबाट चुनावी सभा सुरु गर्ने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले मास प्रदर्शनसहित जनसभा आयोजना गर्न लागेको हो ।
सहप्रवक्ता प्रतिभा रावलका अनुसार धनगढीको पशुपति टोल (महोत्सव स्थल) मा हुने सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
यद्यपि त्यहाँको स्थानीय प्रशासनले निर्वाचन आचारसंहिता उल्लंघन नहुने गरी सभा गर्न पाइने बताएको छ ।
यसअघि दुवै नेता छुट्टाछुट्टै अभियानमा रहे पनि अब संयुक्त रूपमा चुनावी अभियान अघि बढाउने तयारी गरिएको पार्टीले जनाएको छ ।
रास्वपाले देशभर कम्तीमा सात स्थानमा ठूला प्रदेशस्तरीय सभा गर्ने योजना बनाएको छ ।
तर, स्थानहरू भने अझै सार्वजनिक गरिएको छैन ।
वरिष्ठ नेता शाह यसअघि कोशी र सुदूरपश्चिमका जिल्लाहरू भ्रमण गरिसकेका छन् ।
हाल मधेस प्रदेशका विभिन्न जिल्लामा अभियानमा रहेका छन् ।























